बुद्धिमान पुन
सल्यान । सल्यानको सल्लीबजारदेखि सुर्खेतको पोख्रेसम्मको सडक खण्ड जीर्ण बन्दा यात्रुले दिनदिनै सास्ती खेप्नुपरेको छ । छिन्चु–जाजरकोट सडकअन्तर्गत उक्त सडक खण्ड जीर्ण हुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ । यस्तै वनगाड कुपिन्डेको बालुसँग्रही र सल्लीबजारको बीचमा सुक्खा पहिरोले दिनदिनै सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।
आर्थिक वर्ष २०६८/६९ मा आशिष निर्माण सेवाले विभिन्न खण्डमा गरेर २० किमी सडक वटासिल गरेको थियो । थोरै लागतमा धेरै काम गर्नुपर्दा छिट्टै सडकको वटासिल उप्किएको कम्पनी प्रतिनिधि हेमराज वलीले जिकीर गरे ।
बन्गाडकुपिन्डे नगरपालिकाले सुक्खा पहिरो हटाउँदै आए पनि दीर्घकालीन समाधान खोजिएको छैन । समस्याको दिगो समाधानका लागि सडक डिभिजन कार्यालयले चासो नदिएको उनको गुनासो छ । ‘सो सडकको ५ सय मिटर क्षेत्रमा सुक्खा पहिरो झर्ने गरेको छ,’ उनले भने, ‘यसको रोकथाममा सम्बद्ध निकायले चासो दिएको छैन ।’
एकातिर सडक जीर्ण बनेको र अर्कोतिर सुक्खा पहिरोले अवरुद्ध हुँदा आवतजावतमा सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् । सडक अवरुद्ध हुँदा सवारीसाधन घण्टौंसम्म जाममा पर्ने गरेका छन् । जीर्ण सडक मर्मतका लागि टेन्डर भइसकेको र असारभित्र काम सकिने सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । सुक्खा पहिरोले सडक अवरुद्ध पारेको विषय आफूहरूलाई जानकारी भए पनि साधनस्रोत अभावले तत्काल काम थाल्न नसकिएको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।