प्रयोग भएन बसपार्क

Share News
रौतहट (अस) । रौतहटको चन्द्रपुर नगरपालिका–४, टेकानटोलमा रहेको बसपार्क प्रयोग हुन सकेको छैन । २०६९ असोज १६ गतेदेखि सञ्चालनमा आएको बसपार्क अहिले प्रयोगविहीन छ । गौर– चन्द्रनिगाहपुर सडकखण्डमा गुड्ने बस, म्याजिक तथा राजधानी जाने टाटा–सुमो पार्किङ गर्ने उद्देश्यले बस पार्क बनाइएको हो । तर पछिल्लो २ वर्षदेखि बसपार्कमा सवारीसाधन पार्किङ हुन छाडेको हो । पार्किङमा सवारीबाट चोरी हुनुका साथै बसका मजदूरले असुरक्षित महसूस गरेपछि बसपार्कमा पार्किङ गर्न छाडिएको बस व्यवसायीहरू बताउँछन् । बसपार्क व्यवस्थापन समितिका पदाधिकारीले बसको सामान चोरी नभएको र सुरक्षाका लागि चौकिदार पनि राखिएको जानकारी दिए । समितिका अध्यक्ष प्रताप लामाले बसपार्कलाई व्यवस्थित बनाउन करीब रू. १० लाख खर्च भएको बताए । बसपार्कभित्र सौर्यबत्ती जडान गर्नुका साथै शौचालय, बाथरुम, आराम गर्नका लागि अस्थायी टहरा लगायतका संरचना बनाइएको छ । २ बिघा ५ कट्ठा जमीनमा बसपार्क रहेकाले १५० भन्दा बढी बस तथा अन्य सवारीसाधन सो क्षेत्रमा पार्किङ गर्न सकिने उनले जानकारी दिए । बसका मजदूरको लापरबाहीले नै बस पार्क प्रयोगविहीन भएको उनको आरोप छ । चन्द्रनिगाहपुर मुख्य चोकबाट १ किलोमिटर उत्तरमा बसपार्क पर्दछ । तर, अहिले चन्द्रनिगाहपुरको मुख्य राजमार्ग तथा ग्यारेजमा नै अव्यवस्थित रूपमा बस पार्किङ हुने गरेको छ । जथभावी रूपमा बस पार्किङ हँदा सवारीसाधन आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको खतरा बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । बसपार्कलाई व्यवस्थित गर्ने बिषयमा ध्यानकेन्द्रित भएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताए । बस पार्कलाई पुनः सञ्चालनमा ल्याउन पहल गर्ने उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।