ताराखोलामा ९५ जना युवालाई रोजगारी

Share News
बागलुङ (अस) । बागलुङको ताराखोला गाउँपालिकाले स्थानीय युवालाई रोजगारी उपलब्ध गराउन शुरू गरेको छ । नेपाल सरकारले अघिसारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमले पहिलो चरणमा ताराखोला गाउँपालिकाका ९५ जनालाई रोजगारी प्रदान गरेको हो । रोजगारीका लागि गाउँपालिकाका ८ सय जनाले आवेदन दिएकोमा विभिन्न आधारमा २८ जना महिला र ६७ जना पुरुष छनोट गरिएको रोजगार संयोजक सलोनी थापाले बताइन् । उनीहरूलाई सडक मर्मतमा अल्पकालीन रोजगारी दिइएको उनको भनाइ छ । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले उक्त कार्यक्रमले बेरोजगार जनतालाई आयआर्जनमा टेवा पुग्नुका साथै विकास निर्माणको काममा जनशक्ति अभाव नहुने बताए । पहिलो चरणमा रोजगारमा खटिने श्रमिकले सोमवारदेखि २२ दिनसम्म सडक मर्मत गर्ने गाउँपालिकाले बताएको छ । गाउँपालिकाका ५ वडामा ८ श्रमिक समूह बनाएर सडक मर्मतका लागि खटाइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । श्रमिकले दैनिक ७ सयका दरले पारिश्रमिक पाउने रोजगार संयोजक थापाले बताइन् । रोजगार प्रदान गरेका कामदारलाई सुरक्षा पोशाक, गैंती, बेल्चा, घन, बाउसो, हँसिया जस्ता आवश्यक औजार समेत प्रदान गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उक्त गाउँपालिकामा रू. २१ लाख बजेट विनियोजन भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।