तातोपानीमा रेन्वो ट्राउट !

Share News

जेठ २२, म्याग्दी (अस) । यस जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं २ भूरुङ तातोपानीका दुई जना युवक मिलेर व्यावसायिकरुपमा तातोपानीको वेशीमा शुरु गरेको माछा पालन व्यावसाय अहिले यस क्षेत्रका युवाहरुका लागि प्रेरणाको श्रोत बनेको छ ।

स्थानीय सुजन राम्जाली र इन्द्र थापाले रू.२० लाखको लगानीमा वि.सं.२०७५ सालबाट व्यावसायिक रुपमा शुरु गरेको माछा पालन विदेश नगई स्वदेशमा नै केही गरौं भन्ने युवाहरुका लागि प्रेरणाको श्रोत बनेको छ । १४ वर्षसम्म पोखरा बसेर व्यावसायसँगै भुजुङखोलाको माछा फर्म,गण्डकी रेन्वो ट्राउट फर्म र क्षेत्रदीप रेन्वो ट्राउट फर्ममा माछापालन सम्वन्धि सीप र ज्ञान आर्जन गरी आफ्नै गाउँमा फर्केर माछा पालन शुरु गरको व्यवसायी सुजन राम्जालीले बताए ।

राम्जाली र थापाले तातोपानी रेन्वो ट्राउट फर्म दर्ता गरी ८ ओटा पक्की पोखरीमा शुरु गरेको यस व्यावसायमा अहिले २५ हजार माछाका भुरा हुर्किदै छन् । त्यसैगरी ३५० किलोग्राम माछा विक्री गर्न योग्य भएका र ग्राहकहरु फर्म खोज्दै माछा पोखरीमा नै आउने गरेको फर्मका संचालक राम्जालीले बताए । ठाडो खोलाबाट पाइपमार्फत् आठ ओटा पक्की पोखरीमा पानी जम्मा गरिएको छ ।

माछापालन हेर्न बेनी जोमसोम कोरला सडकबाट मुस्ताङजाने र मुस्ताङबाट फर्केर बेनी आउने स्वदेशी वा विदेशी पर्यटकहरुसमेत आउने गरेको उनले बताए । ‘यही फर्म र यहाँको माछा पालन देखेर विदेश जाने भनेर राहदानी बनाएका कतिपय युवाहरु समेत राहदानी थन्काएर गाउँमा नै व्यावसाय गरेर बसेका छन्, फर्म संचालक इन्द्र थापाले भने, ‘एकैचोटी धेरै पैसा कमाउने लोभ नहुने र विस्तारै मिहिनेत गर्दै जाने हो भने यस्तै व्यावसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।’

वि.सं.२०७२ सालमा सामान्य पोखरीमा परीक्षणको रुपमा गरेको माछा पालन सफल भएपछि २०७५ सालदेखि व्यावसायिक रुपमा नै लगानी वृद्धि गरी माछा पालन गरेको उनको भनाई छ । फर्ममा अहिले करीब ३५० किलो माछा विक्रीका लागि तयार भएका,२०० किलो जति एक महीना पछि तयार हुने र २५ हजार भुरा अलग्गै पोखरीमा राखिएको राम्जालीले बताए ।

प्रतिकिलो रू. १ हजार ३००का दरले पोखरीबाट नै माछा विक्री हुने हुँदा बजारको कुनै समस्या नभएको उनको भनाइ थियो । यस वर्ष रू. ६ लाख ५० हजारको करीब ५०० किलो माछा विक्री गर्ने तयारीमा रहेका संचालकले अर्को वर्ष रू. १० लाख भन्दा बढिको माछा विक्री गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

बेनी -जोमसोम -कोरला सडकदेखि करीब १० मिनेटको पैदल यात्रापछि पुगिने तातोपानी रेन्वो ट्राउट फर्म मिहिनेत गर्ने हो भने स्वदेशमा नै वसेर पनि आम्दानी गर्न सकिन्छ भन्ने कुराको बलियो उदाहरण बनेको अन्नपूर्ण गाउँपालिका वडा नं २ भूरुङ तातोपानीका वडाअध्यक्ष ओमप्रसाद फगामीले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।