जेठ २३, गलकोट( बागलुङ ) । बागलुङ जैमिनीका कृषक उत्पादन भएको अलैंचीको मूल्य नपाउँदा चिन्तित छन् । व्यावसायिकरुपमा अलैंचीखेती गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका किसानले अलैंचीको मूल्य प्रत्येक वर्ष घट्दै गएको र विक्री गरिएको अलैंचीकोसमेत पैसा नआउँदा आफूहरु चिन्तित बनेको बताएका छन् । दमेकका कृषक बलिभद्र सापकोटाले अलैंचीले उचित मूल्य नपाउँदा किसानको दुःख खेर गएको प्रतिक्रिया दिए । व्यावसायिक रुपमा अलैंचीका बिरुवा बेच्दै आएका सापकोटाले यस वर्ष अलैंचीको दानालाई प्रतिकेजी रू. ८०० मा बेच्न बाध्य भएको बताए । तीन वर्षअघिसम्म प्रतिकेजी रू.२ हजार २०० मा बेच्दै आएका सापकोटाले प्रत्येक वर्ष अलैंचीको मूल्य घट्दै गएको बताए ।
‘तीन वर्षअघि प्रतिकेजी रू. २ हजार २०० मा बेचेको अलैंची यो वर्ष ८०० मा बेचेको छु’, सापकोटाले भने, ‘वर्षेनी अलैंचीको मूल्य घट्दा पेशा नै संकटमा पर्ने डर भयो ।’ अघिल्लो वर्ष रू.१ हजार ५०० मा अलैंची विक्री भएको उनले बताए । छिमेकीमुलुक भारतमा प्रतिकेजि रू. ३ हजार २०० मा विक्री भइरहँदा आफूहरुले मनग्य आम्दानी हुने देखेर अलैंची लगाएको बताउँदै अर्का कृषक मदु अम्बाइले अलैंचीको मूल्य घट्दा समस्यामा परेको उल्लेख गरे ।
दमेकमा २० रोपनी जग्गामा अलैंचीखेती गरेका अम्बाइले प्रत्येक वर्ष अलैंचीको मूल्य घटिरहँदा लगानी उठाउनै गाह्रो भएको बताए । अलैंचीको दाना र बिरुवा बेच्दै आएकी अम्बाइले शुरुको वर्ष रू.३ लाख कमाइ गरे पनि अहिले भने जस्तो नभएको बताइन् । अलैंची राम्रो आम्दानीको स्रोत भए पनि मूल्य घट्नुले अलैंचीखेतीप्रति सन्तुष्ट नभएको अर्का कृषक गोपालप्रसाद सापकोटाले बताए ।
महत्वपूर्ण र महंगो मसलाका रूपमा प्रयोग हुने अलैंची खास गरी भारतमा निर्यात हुने गर्दछ । अलैंचीको बियाँबाट सुगन्धित् औषधीय र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ । मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित् बनाउन अलैंचीको तेल प्रयोग गरिन्छ । आर्युवेदिक र युनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिने बताइन्छ । अरब देशमा चिया र कफी बनाउन तथा युरोपियन देशमा उच्चकोटीको मदिरा तयार गर्न अलैंचीको प्रयोग गरिन्छ । सौन्दर्य प्रशोधन निर्माण गर्न शरीरमा उष्णता थप्न र यौन शक्ति बढाउन पाचनशक्ति एवं कलेजोको कार्यक्षमता बढाउन सर्प र बिच्छीले टोकेमा विषनाशक औषधिका रूपमा अलैंचीको प्रयोग गर्ने गरिन्छ । जैमिनी नगरपालिकाका–२ र ३ का अधिकांश बाँझो जग्गामा करीब २०० रोपनी क्षेत्रफलमा अलैंची खेती गरिंदै आएको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।