असिनापानी पीडितले पाएनन् राहत

Share News
दैलेख (अस) । दैलेखका असिनापानी पीडितले राहत पाउन नसकेको गुनासो गरेका छन् । गत चैत २२ गते आएको असिनापानीले दैलेखका अधिकांश भूभागमा गहुँ, जौ, फलफूल र तरकारीबाली लगायत नष्ट गरेको थियो । राहत नपाएपछि ऋण गरेरै बीउबिजन र खाद्यसामग्री खरीद गर्न लागिएको ठाटिकाँध–६ की माग्ली थापाले बताइन् । गत चैत २९ गते ठाटीकाँध गाउँपालिकाका जनप्रतिनिधिले एक महीनाको तलब राहतस्वरूप असिनापीडितलाई दिने घोषणा गरेका थिए । तर, उक्त राहत रकम पीडितले पाउन सकेका छैनन् । चामुण्डाबिन्द्रासैनी नगरपालिकाकी उपमेयर तारा शाहीले नगरले राहतका लागि रू. १ करोड छुट्याए पनि कार्यविधि नभएर रोकिएको बताइन् । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पनि गत चैत २६ गते १५ दिनभित्रै कृषकलाई राहत दिने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन । प्रदेश सरकारले मुगु, सुर्खेत र दैलेखका असिनापीडितका लागि रू. २ करोड विनियोजन गरेको थियो । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले वितरण गर्नुपर्ने उक्त रकम हालसम्म खर्च हुन सकेको छैन । पीडितहरूको तथ्यांक संकलनमा समेत चुकेर हचुवाको भरमा प्रदेश सरकारले निर्णय गरेको थियो । राहत वितरणका लागि आवश्यक कानून निर्माण नभएको मन्त्रालयले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।