दीपेश पौडेल
रौतहट । रौतहटको गुजरा नगरपालिका–३ स्थित सिम्रीमा विद्युत् उत्पादन गर्ने ग्यासिफायर प्लान्ट करीब ५ वर्षदेखि बन्द छ । झारपात र ससाना काठका टुक्राबाट विद्युत् निकाल्न उक्त प्लान्ट २०६९ मा जडान गरिएको थियो ।
हाल ग्यासिफायर प्लान्टका उपकरणहरूमा खिया लागेर कामै नलाग्ने अवस्थामा छन् । वैकल्पिक ऊर्जाका लागि ग्यासिफायर प्लान्ट जडान गरी विद्युत् उत्पादन गरिएको थियो । करीब २ वर्षसम्म सञ्चालनमा आएको प्लान्ट अहिले बन्द छ ।
पुनःसञ्चालनका लागि आर्थिक अभावका कारण प्लान्ट बन्द भएको व्यवस्थापक रामबहादुर लामाले बताए । सय घरमा विद्युत् दिँदा १५ हजारसम्म रकम संकलन हुने र मासिक ५० हजारभन्दा बढी खर्च हुने गरेपछि प्लान्ट बन्द गर्न बाध्य भएको उनले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तत्कालीन जिविस, साविक कनकपुर गाविस र नमस्ते सामुदायिक वन उपभोक्ता समितिको आर्थिक सहयोगमा प्लान्ट स्थापना गरिएको थियो ।
करीब ४० लाखको लागतमा २० केभीको विद्युत् उत्पादन हुने गरेको थियो । ग्यासिफायर प्लान्ट बन्द भएपछि निराश भएका त्यस भेगमा केही वर्षअघि विद्युतीकरण भइसकेको छ । गाउँमा विद्युत् पुगेपछि ग्यासिफायर प्लान्ट प्रयोग विहिन भएको हो । गाउँघरमा पाइने कच्चा पदार्थको प्रयोग गरी बिजुली निकालिने भएकाले यसलाई प्रयोगमा ल्याउनु पर्ने गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताए । स्थानीय कच्चा पदार्थको प्रयोग गरी बिजुली निकालिने हुँदा विविध प्रयोगका लागि भए पनि यस्ता उपकरणहरू प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।