फेदिखोला गाउँपालिकामा युवा उद्यम कार्यक्रम

Share News
पोखरा (अस) । स्याङ्जाको फेदिखोला गाउँपालिका र नेपाल सरकारको सशर्त अनुदान सहयोगमा गाउँपालिकामा युवा उद्यम कार्यक्रम सञ्चालनमा आएको छ । गाउँपालिकामा रहेका युवा जनशक्तिलाई परिचालित गरी उद्यमशील बनाउने र रोजगार सृजना गर्ने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘गाउँपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस्, साथै उद्यमशीलताको भरपूर उपयोग होस् भन्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ सञ्चालनमा ल्याएका हौं,’ मंगलवार कार्यक्रमको उद्घाटनका अवसरमा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने । युवा उद्यम कार्यक्रमबाट ३ ओटा समूहका ३० जना व्यवसायी बनिसकेको उनले बताए । ३० जनाको उद्यमशीलताले ३ सय, ३ हजार हुँदै हजारौं युवालाई रोजगार प्रदान हुने उनले विश्वास व्यक्त गरे । कार्यक्रम अन्तर्गत वडा नं. १, २ र ४ का ३ ओटा समूह जनजागृत युवा कृषि समूह, प्रगतिशील युवा समूह, महाउद्यमी युवा समूहलाई उद्यम सञ्चालनार्थ ५ वर्षसम्म बिना ब्याज ५ लाख रुपैयाँ प्रदान गरिएको छ । कार्यक्रमका लागि आवेदन परेका १२ समूहमध्ये छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशीलले कुखुरा पालन र महाउद्यमीले बेकरी उद्योग चलाउनेछन् । प्रत्येक समूहमा १६ देखि ४० वर्षभित्रका १० जना सदस्य सहभागी छन् । समूहलाई पहिलो किस्तामार्फत ५० प्रतिशत रकम र उद्यमको कार्यप्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमनपछि प्रदान गरिने सुवेदीले बताए । समूहले प्राप्त रकम एक वर्षसम्म पूर्णरूपमा परिचालन गर्न पाउने र दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष २० प्रतिशत, चौथो वर्ष ३० प्रतिशत र पाँचौं वर्ष ४० प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्नेछ । साथै, गुणस्तर एवम् परिणाममा कार्यसम्पन्न नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुलउपर गर्ने, सदस्यलाई कालोसूचीमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट वञ्चित गराइने बताइएको छ । कार्यक्रममा महाउद्यमी युवा समूहका अध्यक्ष डिल बहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।