जेठ ३१, दैलेख । कर्णाली राजमार्ग सञ्चालन भएको लामो समय भैसक्दा पनि राम्रोसँग स्तरोन्नति भने हुन सकिरहेको छैन । सुर्खेतदेखि जुम्लासम्मको यो सडकखण्ड मृत्यु मार्गको नामलेसमेत परिचित छ । भौगोलिक रुपमा विकट क्षेत्र कर्णालीमा निर्माण भएको यो सडक अत्यन्तै जोखिमपूर्ण छ ।
तर अब उक्त सडकभन्दा ७९ किलोमिटर छोटो पर्ने देखिन्छ, भारतको रुपैडिया नाका हुँदै कर्णाली प्रदेश राजधानी सुर्खेत, दैलेख सदरमुकाम, महावु हुँदै जुम्लादेखि चीनको सिमाना नाम्चे नाड्ला जोड्ने रणनीतिक सडक । गत आर्थिक वर्षमा सरकारले उक्त सडकलाई प्राथमिकतामा राखेको भएपनि रू. १० करोड मात्र बजेट विनियोजन भएको थियो । त्यो रकम नाम्चे सिमानामै खर्च गरिएको थियो ।
उक्त सडक निर्माणका लागि संघीय सरकारको आर्थिक वर्ष ०७६/०७७ मा रू. ५२ करोड रकम विनियोजन भएको छ । दैलेखबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्माले उक्त खण्डमा हालसम्मकै ठूलो रकम विनियोजन भएको बताए । दैलेखको भविष्य उज्वल पार्न उक्त सडकले महत्वपूर्ण भुमिका खेल्ने देखिएको छ । ‘विगतका दिन कर्णाली राजमार्ग नहुँदा तोडिएको दैलेख कालिकोट र जुम्लाको मित्रता उक्त सडक सञ्जालले पुनः जोड्ने छ,’ सांसद शर्माले भने ।
दैलेख सदरमुकामदेखि महावुसम्म कच्चि सडक सञ्चालन भएको भएपनि महावुदेखि गाल्जेसम्मको सडकको ट्रयाक खोल्नुपर्ने दैलेखवासीको माग थियो । सांसद शर्माले यो वर्ष रकमको राम्रो सदुपयोग हुने बताए । उक्त सडकको ट्रयाक खोल्न सकेमात्रै कालिकोट र जुम्लाको आधा खण्डको व्यापार व्यवसाय दैलेख सदरमुकामसँग जोडिने देखिन्छ । कर्णाली प्रदेशको त्रिदेशीय व्यापार बढ्नुका साथै, आयातमा प्रतिस्थापन भई निर्यात बढ्ने, उद्योग स्थापना हुने, आय आर्जनका क्रियाकलापमा वृद्धि हुने र विशेष गरेर दैलेखको धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वलाई यो सडकले जोड दिने भएकोले सडक निर्माणको काम छिटो गराउन दैलेखवासीले सरकारसँग माग गरेका छन् । सुर्खेत दैलेखदेखि रारा जाने पर्यटकले एकै दिनमा राराको अवलोकन गरेर फर्किन सक्छन् । दैलेखको नौमुले, नारायण नगरपालिका हुँदै महावु गाउँपालिकाको महावुको बिच भाग हुँदै सडकले उत्तर तर्फको मोहोडामा प्रवेश गर्ने देखिन्छ ।
महावुको अवस्था फेरिएला ! समुन्द्री सहतदेखि ४ हजार २ सय मिटर उचाईमा रेहेको दैलेखको प्रसिद्ध ठाउँ हो, महावु धाम । महावु गाउँपालिकाको अग्लो चुचुरोमा अवस्थित महावु सुन्दर र आकर्षक ठाउँमात्र नभई धार्मिक हिसाबले उत्तिकै महत्वपूर्ण मानिन्छ । महावुदेखि तराईका बर्दिया, कैलाली र बाँकेका सुन्दर फाँटको अवलोकन सजिलै गर्न सकिन्छ । पाटनका बीच–बीचमा साना–साना ताल, नजिकै केही गाईगोठ, वरपर चौरमा भेडाबाख्रा चर्नाले महावुको महिमा बेग्लै छ ।
[caption id="attachment_348456" align="aligncenter" width="1024"]
चारैतिर अग्ला र अध्याँरा लेकहरू, नजिकैको सुन्दर पाटनले महावु क्षेत्र निकै रमणीय छ । बीचमा रहेको विशाल ढुंगा र त्यसमाथि पूजा आराधना गर्नको लागि शिवलिंगको मूर्ति समेत स्थापना गरिएको छ । तर यति रमणीय र आनन्ददायक ठाउँमा पुग्न हालसम्म कुनै सडक र बस्ने आश्रमको व्यवस्था नहुँदा पर्यटकले सास्ती भोग्नुपरेको अवलोकनमा गएका गणेश मल्लले बताए ।
कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल भएपनि यसको राम्रोसँग प्रचार–प्रसार हुन सकिरहेको छैन । कालिकोटको महावै र दैलेखको महावुको बीचमा रहेको महावु धाममा राज्यको आँखा त्यति पर्न सकिरहेको छैन । अब बन्ने नयाँ रणनीतिक महत्वको सडकले महावुको अवस्था फेरिन सहयोग पुग्ने सांसद शर्माको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।