जनता आवास कार्यक्रम : अन्तिम किस्ता पाएसँगै घर निर्माण तीव्र

Share News
सुकमाया थापा डोल्पा । जनता आवास कार्यक्रमबाट अन्तिम किस्ताको रकम पाएसँगै डोल्पाका दलित समुदायमा धमाधम घर निर्माण हुन थालेको छ । यसअघि रकम निकासा नहुँदा घर निर्माण अलपत्र परेको थियो । जनता आवास कार्यक्रमबाट जिल्लाका साविक दुनै, जुफा, त्रिपुराकोट, पाहाडा, लहाँ, नर्कु, कालिका, सर्मी गाविसका ३२७ घरधुरीलाई रकम दिने सम्झौता भएको थियो । सरकारले दलितभित्रका विपन्न वर्गलाई लक्षित गरी सञ्चालन गरेको जनता आवास कार्यक्रमले वास्तविक गरीब दलित समुदायलाई राहत पुगेको छ । घर निर्माण शुरू भएदेखि अहिलेसम्म चार किस्ता गरी रू. ३ लाख ८० हजार अनुदान दिने व्यवस्था भएबमोजिम अन्तिम किस्ता निकासा गरिएको हो । लक्षित वर्गको घर निर्माण आर्थिक वर्ष २०७४/७५ असार मसान्तभित्र सक्ने सम्झौता शहरी विकास मन्त्रालयले गरेको थियो । तर संघीयता लागू भएर कार्यालय समायोजन गरेपछि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मा दिँदा काममा ढिला भएको थियो । उक्त काम चालू आवको असार मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ । ३२७ घरधुरी लाभग्राहीसँग सम्झौता भए तापनि कसैको नाम, थर दोहोरिएको र केहीको नामथर बिग्रिएकाले तत्काललाई ३११ घरघुरीले मात्र पूरै रकम भुक्तानी पाउने जनता आवास निर्माण कार्यक्रमका प्रमुख सजीवमान श्रेष्ठले जानकारी दिए । डोल्पाका विपन्न दलित समुदायको ८० प्रतिशत घर निर्माण करीब सम्पन्न भइसकेको सब–इन्जिनीयर भीमसेन बस्नेतले बताए । सरकारको लगानीमा घर निर्माण भएपछि यहाँका स्थानीयहरू निकै उत्साहित छन् । यसअघि नै निर्माण सकिनुपर्नेमा आर्थिक अभावले १ वर्ष ढिलाइ भएको मुड्केचुला गाउँपालिका–२ भेटगाउँका बलबहादुर सार्कीले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।