गौचरन बन्यो राज रंगशाला

Share News
सप्तरी (अस) । जिल्लाको राजविराज नगरपालिकास्थित राज रंगशालाको संरक्षण हुन नसक्दा गौचरनमा परिणत भएको छ । रंगशाला जीर्ण र अतिक्रमण हुँदा पनि सम्बन्धित निकायले संरक्षणमा ध्यान दिएको छैन । विगत १५ वर्षदेखि रंगशालामा कुनै पनि प्रतियोगिता हुन सकेको छैन । स्थानीय स्तरका विभिन्न खेलकुद प्रतियोगिता हुने रंगशाला अहिले औद्योगिक मेला र राजनीतिक दलको सभा स्थल बनेको छ । ७ हजार दर्शक अटाउने क्षमता भएको प्याराफिट जीर्ण छ । प्याराफिटमुनि वर्षौंदेखि २ दर्जन परिवार बसोबास गर्दै आएका छन् । नगरपालिकाले २१ वर्षअघि जिल्ला खेलकुद विकास समितिलाई रंगशालाको स्वामित्व हस्तान्तरण गरेको थियो । तर, समितिले अतिक्रमित स्थान खाली गराउन पहल गरेको देखिँदैन । समितिका प्रमुख दिनेश भुजेलले पटकपटक अतिक्रमित स्थान खाली गर्न सूचना पठाए पनि नटेरेको बताए । रंगशाला अतिक्रमण गर्नेलाई हटाउनका लागि अन्य निकायको सहयोग नपाएको उनको गुनासो छ । २०३६ सालमा निर्माण भएको रंगशाला पानी निकासको समस्याले वर्षायाममा जलमग्न समेत हुने गरेको छ । २ बिघा ७ कठ्ठामा बनेको रंगशालाको संरक्षणका लागि पटकपटक खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्मा लिखित तथा मौखिक अनुरोध गर्दा पनि आश्वासन मात्र पाएको स्थानीय खेलाडीको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।