पंखबहादुर शाही
दैलेख । सरकारले भारतीय सीमा रुपैडियादेखि सुर्खेत, दैलेख, जुम्ला हुँदै चीनको सिमाना नाम्चे नाड्ला जोड्ने त्रिदेशीय सडकका लागि आगामी आर्थिक वर्षमा ५२ करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली राजमार्गको विकल्प मानिएको उक्त सडक राजमार्गभन्दा ७९ किलोमिटर छोटो पर्ने बताइएको छ ।
चालू आर्थिक वर्षमा सरकारले उक्त सडकलाई प्राथमिकतामा राखेको भए पनि १० करोड रकम मात्र विनियोजन गरेको थियो । त्यो रकम नाम्चे सिमानामै खर्च भएको छ । प्रतिनिधिसभाका लागि दैलेख क्षेत्र नम्बर १ बाट नेकपाका निर्वाचित सांसद रवीन्द्रराज शर्माले उक्त सडकको ट्र्याक खोल्न सकेमात्रै कालिकोट र जुम्लाको आधा खण्डको व्यापार व्यवसाय दैलेख सदरमुकामसँग जोडिने बताए । सडकका कारण व्यापार व्यवसाय बढ्नुका साथै पर्यटकीय क्रियाकलाप बढ्ने धारणा राखे ।
फेरिएला त महाबुको अवस्था ?
त्रिदेशीय सडक दैलेखको महाबु हुँदै चिनियाँ सीमाक्षेत्रमा पुग्दछ । समुद्री सतहदेखि ४ हजार २ सय मिटर उचाइमा रहेको दैलेखको प्रसिद्ध ठाउँ हो, महाबु धाम । महाबु गाउँपालिकामा रहेको सो क्षेत्र अग्लो चुचुरोमा अवस्थित छ । महाबु सुन्दर र आकर्षक ठाउँमात्र नभई धार्मिक हिसाबले उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।
महाबुबाट तराईका बर्दिया, कैलाली र बाँकेका सुन्दर फाँटको अवलोकन सजिलै गर्न सकिन्छ । पाटनका बीच–बीचमा ससाना ताल पाइन्छ । चारैतिर अग्ला र अँध्यारा लेकहरू छन् । त्रिदेशीय सडक निर्माण हुन सके यो क्षेत्रको विकास हुने र पर्यटकको संख्या बढ्ने स्थानीयको अपेक्षा छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।