ध्रुवसागर शर्मा
असार ५, म्याग्दी । आन्तरिक एवम् बाह्य पर्यटकहरुको आकर्षक पर्यटकीय क्षेत्र हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित जोमसोम विमानस्थलको धावनमार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । ८१५ मिटर लामो धावनमार्गमा १८ वर्षपछि कालोपत्रे गरिएको हो । यसैगरी कालीगण्डकी नदी नियन्त्रणका लागि तटबन्ध समेत निर्माण गरिएको छ ।
सडक सञ्जालमा जोडिएपनि हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको चाप बढ्दै भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले रू. ९ करोड १२ लाख ६८ हजार रकम खर्चिएर विमानस्थलको सुधारसँगै कालोपत्रे गरेको हो । एक वर्षमा सम्पन्न गर्ने गरी एपेक्स कन्स्ट्रक्शनले गत वर्षको कात्तिकमा विमानस्थल सुधार, कालोपत्रे लगायतका कामको जिम्मा लिएको थियो । तर ठेकेदार कम्पनीले तोकिएको मितिभन्दा ४ महीना अगावै निर्माण कार्य सम्पन्न गरेको छ ।
एपेक्स कन्स्ट्रक्शनले कालोपत्रेसँगै कालीगण्डकी नदी नियन्त्रणको लागि ३५ मिटर बराबरको तटबन्ध निर्माण, धावनमार्गको आसपास ढल निर्माण, पर्खालसहित तारबार निर्माण र ट्याक्सी वे लगायतका सम्पूर्ण काम लगभग सम्पन्न गरेको आयोजना प्रमुख तथा इन्जिनियर कृष्णप्रसाद पौडेलले बताए ।
विमानस्थलले नयाँ स्वरुप ग्रहण गरेपछि स्थानीय एवम् पर्यटन व्यवसायी हर्षित देखिएका छन् । सदरमुकाम जोमसोमस्थित अगुवा पर्यटन व्यवसायी मोहनकुमारी गौचनले विमानस्थलको सुधारपछि सदरमुकाम आसपासका होटलहरुमा चहलपहल बढ्ने भन्दै हर्ष व्यक्त गरिन् ।
विमानस्थलमा गत वर्षको कात्तिक महीनादेखि काम शुरु भएपनि अन्तिम चरणको काम सक्न विगत १५ दिनदेखि उडान एवम् अवतरण बन्द गरिएको थियो । अहिले विमानस्थलबाट नियमित उडान शुरु भइसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।