काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारसँग सम्बद्ध ४४१ कम्पनीको नियमन तथा सुपरिवेक्षणका साथै लगानीकर्तालाई वित्तीय साक्षरताका लागि सचेतना कार्यक्रमलाई समेत निरन्तरता दिँदै आएको छ । बोर्डले विगतका वर्षहरूमा पनि लगानीकर्तालाई साक्षर बनाउने अभियान सञ्चालन गरे पनि यस वर्षदेखि पाक्षिक रूपमै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलोपटक २०७५ साउन २५ देखि पाक्षिक कार्यक्रमको शुरुआत गरेको थियो । यस वर्ष हालसम्म बोर्डले लगानीकर्ता शिक्षा तथा जनचेतना अभिवृद्धि कार्यक्रम २९ ओटा आयोजना गरिएको जानकारी दिएको छ ।
लगानीकर्ता सम्बद्ध संघसंस्थाहरू, व्यक्तिगत लगानीकर्ता, नेप्से, सीडीएससी, क्रेडिट रेटिङ संस्था, मर्चेन्ट बैंकर तथा स्टक ब्रोकर एशोसिएशनका प्रतिनिधिहरू तथा आर्थिक पत्रकारसहित करीब ६० जनाको उपस्थितिमा पहिलो पाक्षिक लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गरी बोर्डलाई त्यसलाई निरन्तरता दिँदै आएको छ ।
बोर्डको कार्यसम्पादन प्रणाली, धितोपत्र बजारका सम्बन्धमा जानकारी दिने कार्यमा पत्रकारको भूमिका महŒवपूर्ण हुने भन्दै बोर्डले यस वर्षको नीति तथा कार्यक्रमबमोजिम पत्रकारलाई पनि प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आएको छ । चालू आर्थिक वर्षमा प्रदेशस्तरीय धितोपत्र तथा वस्तु विनिमय बजार गतिविधिलाई दृष्टिगत गरी प्रदेश नं. १, २ र ६ का पत्रकारलाई आर्थिक तथा धितोपत्र बजारसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । साथै बाँकी अन्य प्रदेशमा समेत कार्यक्रम सञ्चालनको तयारी भइरहेको गिरीको भनाइ छ ।
विगतका वर्षमा बोर्डले लगानीकर्ताका लागि अयोजना गरेको पूँजीबजारसम्बन्धी प्रशिक्षण कार्यक्रमको तथ्यांक हेर्दा अघिल्लो आर्थिक वर्ष २०७३÷७४ भन्दा गत आर्थिक वर्ष २०७४/७५ मा संख्याको हिसाबमा १० र उपस्थितिको हिसाबमा १ हजार ८०५ बढी रहेको देखिन्छ । बोर्डले अघिल्लो आर्थिक वर्षभरि सातै प्रदेशलाई समेटेर २१ ओटा र गत आर्थिक वर्षमा ३१ ओटा कार्यक्रम गरेको तथ्यांक छ । लगानीकर्ताको उपस्थिति पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षको बढेको देखिन्छ । अघिल्लो आर्थिक वर्षमा २ हजार ५६५ जनाको उपस्थिति थियो भने भने गत आर्थिक वर्षमा यो संख्या ४ हजार ३७० रहेको छ । अघिल्लो आर्थिक वर्षमा कर्णाली प्रदेशमा बढी कार्यक्रम गरेको बोर्डले गत आव प्रदेश नं ३ मा बढी कार्यक्रम गरेको छ ।
हाल धितोपत्र प्राथमिक बजार र दोस्रो बजारको पहुँच देशव्यापी रूपमा विस्तार भइसकेको अवस्थामा बोर्डले निरन्तरता दिएको सचेतना कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको तर्क छ । प्राथमिक बजारमा निष्कासन हुने शेयरमा देशभरका ७७ ओटै जिल्लाका लगानीकर्ताको सहभागिता रहेको दाबी उनले गरे । यो पहुँच दोस्रो बजारमा पनि बढ्दै जाने उनले बताए ।
आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम यही असारभित्र सार्वजनिक गर्न लागेको बोर्डलाई लगानीकर्ताले जसरी पूँजीबजारको पहुँच देशव्यापी रूपमा विस्तार भएको छ, सोही रूपमा सचेतना कार्यक्रमलाई पनि देशव्यापी सञ्चालन गर्न सुझाव दिएका छन् । लगानीकर्ताको समेत सुझाव समेट्दै बोर्डले आर्थिक वर्ष २०७४/७५ देखि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।