पोखरा महानगरको नीति तथा कार्यक्रम : आकाशे पुल र बहुतले पार्किङको योजना

Share News
कास्की । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ मा ट्राफिक जाम समस्या हटाउन आकाशे पुल र बहुतले पार्किङ क्षेत्र निर्माण गर्ने भएको छ । आइतवार महानगरका प्रमुख मानबहादुर जिसीले आगामी आवका लागि महानगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भौतिक पूर्वाधार, सडक, खानेपानी, ताल संरक्षण र स्मार्ट सिटीलगायतलाई प्राथमिकतामा राखेको बताए । पोखराका मुख्य १४ ओटा सडक क्षेत्रमा पर्ने स्थानमा निर्माण गरिने घर तथा भवनमा अनिवार्य अन्डरग्राउन्ड पार्किङ बनाएर मात्र नक्सापास स्वीकृति प्रदान गर्ने नीति लिइएको मेयर जिसीले जानकारी दिए । सेती गर्जलाई साहसिक पर्यटन पूर्वाधारको रूपमा विकास गर्ने योजना महानगरले ल्याएको छ । महानगरले पातलो छाँगोमा सिसाको पुल निर्माण गर्ने र सराङकोटमा पर्यटन पूर्वाधार निर्माण गर्ने नीति पनि लिएको छ । सार्वजनिक यातायातमा वैज्ञानिक भाडा दर कायम गरेर ई–टिकेटिङ लागू गरी मेट्रो कार्डमार्फत भाडा बुझाउन मिल्ने गरी बनाइने जिसीले बताए । पोखराका मुख्यचोकहरू महेन्द्रपुल, पृथ्वीचोक र सृजनाचोकमा ट्राफिक लाइटको व्यवस्था गरिने समेत उनले उल्लेख गरे । महानगरले आगामी आर्थिक वर्षदेखि जेष्ठ नागरिकलाई ‘महानगर माता र महानगर पिता’ को रूपमा सम्मान गर्ने भएको छ । २ वर्षभित्रमा महानगरभित्रका सडकहरू नमूना योग्य बनाउन मेयर नमूना पूर्वाधार योजना कार्यक्रम घोषणा गरिएको छ । लामे आहालमा प्रदेश सरकारसँगको सहकार्यमा आधुनिक बसपार्क बनाइने भएको छ । महानगरपालिका ३३ स्थित तल्लोपुँडीमा औद्योगिक क्षेत्र स्थापना गर्ने महानगरको योजना छ । महानगरले ९ ओटै तालको वरिपरि पैदल मार्ग निर्माण गर्ने भएको छ । सबै तालको अतिक्रमण रोकी सौन्दर्यीकरणका लागि पैदलमार्ग बनाउने नीति महानगरले लिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।