तरकारी र फलफूलको विषादी अवशेष परीक्षण : तयारी बिना अनिवार्य गरेपछि आयातकर्तालाई सास्ती

Share News

असार १०, वीरगञ्ज । भारतबाट आयातित तरकारी र फलफूलको विषादी अवशेष परीक्षण तत्कालका लागि कृषि विभागमातहका प्रयोगशालामा गरिने भएको छ । सरकारले यही असार २ गतेदेखि तरकारी र फलफूलको आयातमा विषादी अवशेष परीक्षण अनिवार्य गरे पनि परीक्षणको पूर्वाधार टुंगो लागेको थिएन ।

पूर्वतयारी बिनै परीक्षण अनिवार्य गरेपछि अहिले नाकाहरूमा तरकारीका गाडी रोकिएका छन् । कृषि विभागका विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईबाट परीक्षण गराएर आयात गर्ने व्यवस्था मिलाइएको भन्सारले बताएको छ ।

वीरगञ्ज नाकाबाट तरकारी र फलफूल आयातका लागि आयातकर्ताले सर्लाहीको नवलपुरस्थित प्रयोगशालामा विषादी अवशेष परीक्षण गराउनुपर्ने वीरगञ्ज भन्सारका सूचना अधिकृत मनीष महतोले बताए । यो प्रयोगशाला वीरगञ्जबाट ९० किलोमीटर टाढा छ । अन्य नाकाबाट हुने आयातका लागि पनि नजिकका यस्ता प्रयोगशालामा परीक्षणको प्रबन्ध मिलाइएको भन्सारले बताएका छन् ।

वीरगञ्ज नाकाबाट ९ दिनयता तरकारी र फलफूल आयात रोकिएको महतोले जानकारी दिए । यो नाकाबाट यसअघि दैनिक ८/१० गाडी तरकारी र फलफूल भित्रिने गरेको वीरगञ्ज भन्सारले बताएको छ । भैरहवा र मेची भन्सारबाट बढी परिमाण आयात हुन्छ । भैरहवा नाकाबाट हुने आयातका लागि २८ किलोमीटर दूरीको बुटवलबाट परीक्षण गराउनुपर्ने भएको छ ।

कृषि विभागले सर्लाहीलगायत बुटवल, झापाको विर्तामोड, पोखरा, नेपालगञ्ज र कैलालीमा प्रयोगशाला खोलेको छ । काठमाडौंको कालीमाटीमा पनि यस्तो प्रयोगशाला छ । आयातकर्ताले भन्सार नाकामै परीक्षणको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

भन्सारमा गाडी रोकेर टाढाको प्रयोगशालामा पुग्नु झन्झटिलो हुने उनीहरूको भनाइ छ । तरकारी र फलफूल कुहिएर बिग्रिने चिन्ता आयातकर्ताको छ । प्रत्येक नाकामा प्लान्ट क्वारेन्टाइन भए पनि तरकारी र फलफूलको विषादी जाँच्ने प्रविधि र जनशक्ति नभएको ती कार्यालयले बताउने गरेका छन् ।

वाणिज्य मन्त्रालय र भन्सारले दीर्घकालीन रुपमा नाकामै परीक्षणको व्यवस्था मिलाउने प्रयास भइरहेको बताएका छन् । व्यवसायीहरूले भने आवश्यक तयारीबिनै रोक लगाइएको भन्दै सरकारी कदमप्रति असन्तुष्टि जनाएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।