नेप्सेमा झिनो सुधार, ६ समूहको परिसूचक सकारात्मक हुँदा ०.९६ अंकले वृद्धि, कुन कम्पनीको शेयर मूल्यमा लाग्यो सर्किट ?

Share News

असार १०, काठमाडौं (अस) । मंगलवार दिनभरिको कारोबारमा नेप्से शून्य दशमलव ९६ अंकले वृद्धि भएको छ । १ हजार २६० दशमलव २३ विन्दुबाट शुरु भएको परिसूचक दोस्रो घण्टामा १ हजार २६४ दशमलव ५२ विन्दुसम्म पुगेको थियो । सो विन्दुपछि ओरालो लागेको परिसूचक अन्त्यमा झिनो अंकले सकारात्मक भई १ हजार २६१ दशमलव शून्य ७ विन्दुमा बन्द भएको छ । यस दिन कम्पनीहरुको शेयर खरीदभन्दा बढी विक्रेता आएकाले बजार बढ्न नसकेको हो ।

यस दिनको कारोबारमा १७४ कम्पनीको रू. ३६ करोड ४७ लाख बराबरको शेयर कारोबार भएको छ । १२ समूहको परिसूचकमा ६ समूहको बढेको छ भने ६ समूहको घटेको छ । बंैकिङ, जलविद्युत, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन समूह, लघुवित्त र जीवन बीमाको परिसूचक सकारात्क भएको छ । उत्पादन तथा प्रशोधन समूहको सबैभन्दा बढी शून्य दशमलव ७४ प्रतिशतले बढेको छ । सो समूहमा कारोबार हुने युनिलिभर नेपालको शेयर मूल्य बढेपछि सो समूहको परिसूचक बढ्न पुगेको हो ।

यस दिन एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको रू. २ करोड ५३ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २५५ पुगेको छ । दोस्रोमा प्रभु बैंकको रू. २ करोड २८ लाखको कारोबार भएको छ । गणपति माइक्रोफाइनान्समा सकारात्मक हुँदा मल्टिपर्पसमा लाग्यो नकारात्मक सर्किट जेठ ४ गते नेप्सेमा सूचिकृत भएको गणपति माइक्रोफाइनान्सको शेयर मूल्य बढेर रू. ४३२ पुगेको छ । नेप्सेमा प्रतिकित्ता रू. २३७ देखि कारोबार भएको कम्पनीको मूल्य १० दिनमा रू. १९५ ले बढ्न पुगेको छ । कम्पनीको आईपीओ सूचिकृत कारोबारमा आएकाले लगानीकर्ताहरुको माग बढी भई शेयर मूल्य बढ्न पुगेको हो । यस दिन कम्पनीको शेयर मूल्य रू. ४३२ पुगेको छ ।

दोस्रोमा जनउत्थान लघुवित्तले २० प्रतिशत बोनस शेयर ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेपछि कम्पनीको शेयर मूल्य ७ दशमलव ५५ प्रतिशत बढेर रू. १ हजार १८१ पुगेको छ । साथै, मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडले जारी गर्न लागेको १ बराबर ८ दशमलव ६५ को अनुपातमा हकप्रद शेयर आजसम्म कायम शेयरधनीहरुले पाउने भएका छन् । तर पनि कम्पनीको शेयर मूल्य ९ दशमलव ६६ प्रतिशतले घट्न पुगेको छ । कम्पनीको यस अघि सस्तोमा शेयर किनेका लगानीकर्ताहरुले हकप्रद भर्न नचाहि केहि नाफा लिएर शेयर विक्री गर्न आएपछि मूल्य घट्न पुगेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।