उत्तम अर्याल
काठमाडौं । ठूला करदाता कार्यालयले आफ्नो कुल राजस्व संकलन लक्ष्यको झन्डै ५० प्रतिशत २१ ठूला करदाताबाट उठाउँछ । आन्तरिक राजस्व विभाग अन्तर्गतको उक्त कार्यालयको दायरामा मुलुकका ६९३ ठूला करदाता रहेका छन् ।
ती करदाताले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) बापत ४६ दशमलव ८४ प्रतिशत कर तिरेको कार्यालयको तथ्यांक छ । उनीहरूले अन्तःशुल्क मार्फत पनि ठूलो रकम राज्यलाई तिर्दै आएका छन् । बढी कर तिर्ने २१ ठूला करदाताको सूचीमा व्यापार र उद्योग अन्तर्गतका भन्दा पनि बैंक तथा वित्त समूह, बहुराष्ट्रिय कम्पनी, सेवा क्षेत्रसँग आबद्ध कम्पनी धेरै छन् । कार्यालयका अनुसार चालू आवको जेठ मसान्तसम्ममा धेरै कर तिर्ने करदातामध्ये १५ बैंक र फाइनान्स समूहका, ३ बहुराष्ट्रिय कम्पनी समूहका, २ सेवा समूहका र एक व्यापार समूह छन् ।
कार्यालयले आफू मातहतका करदातालाई कृषि, बैंक तथा फाइनान्स, बहुराष्ट्रिय, निर्माण, सेवा र व्यापार गरी ६ समूहमा विभाजन गरेको छ । तीमध्ये सबैभन्दा बढी करदाता व्यापार समूहअन्तर्गत रहे पनि उनीहरूबाट हुने राजस्व योगदान कमै रहेको कार्यालयका अधिकारीहरू बताउँछन् । कार्यालयका प्रमुख कर प्रशासक धनीराम शर्माका अनुसार बैंक तथा फाइनान्स, बहुराष्ट्रिय र सेवाक्षेत्रको राजस्व योगदान धेरै रहँदै आएको छ । ‘व्यापार समूह अन्तर्गतका ठूला करदाताको संख्या साढे २ सयको हाराहारीमा छ । तर, आयात गरेर विक्री गर्दा धेरै नाफा नहुने भएकाले उनीहरूले धेरै कर तिर्दैनन्,’ शर्माले भने ।
‘नेपालका अधिकांश उद्योग विदेशी कच्चा पदार्थमा आधारित छन् । त्यस्तो कच्चा पदार्थमा थोरै ‘भ्यालु एड’ गरेर उत्पादन गर्ने उद्योगहरूले नाफा धेरै नकमाउने र कर कम तिर्ने गरेका छन्,’ उनले भने, ‘भर्खर शुरू भएका उद्योगले धेरै नाफा कमाउन सक्दैनन्, केही त नोक्सानमा जान्छन् । त्यसैले उद्योग समूहबाट पनि उल्लेख्य करवृद्धि हुन सकेको छैन ।’
लक्ष्य भेट्टाउन मुश्किल
चालू आवको जेठ मसान्तसम्ममा कार्यालयले १ खर्ब ६६ अर्ब राजस्व संकलन लक्ष्य लिएकोमा १ खर्ब ३१ अर्ब रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख कर अधिकृत तथा सूचना अधिकारी कृष्णप्रसाद मैनालीले जानकारी दिए । कार्यालयले चालू आर्थिक वर्षमा २ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो । आगामी आर्थिक वर्षमा साढे २ खर्बको हाराहारीमा कार्यालयले लक्ष्य पाउने अनुमान गरिएको छ ।
एनसेलले तिर्नुपर्ने करीब ४० अर्ब रुपैयाँ उठे मात्र राजस्व संकलन लक्ष्य पूरा हुनसक्ने मैनालीले बताए । उनले भने, ‘गत आर्थिक वर्षमा हामीले करीब १ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गरेका थियौं । चालू आवमा गत आवभन्दा बढी राजस्व संकलन हुन्छ, तर लक्ष्यअनुसार संकलन हुने सम्भावना न्यून छ ।’
गत आवमा ठूला करदाता कार्यालय मातहत करीब १३ सय करदाता थिए । तर, अर्थ मन्त्रालयले वार्षिक ८० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनी मात्र कार्यालय मातहत रहने नयाँ सीमांकन निर्धारण गरेपछि आधा करदाता घटेका थिए । यसअघि वार्षिक ४० करोड रुपैयाँभन्दा माथि कारोबार गर्ने करदाता कार्यालयको क्षेत्राधिकारभित्र पर्दथे । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको शुरुआतमा मध्यमस्तरीय करदाता कार्यालय स्थापना गरी ४० करोडदेखि ८० करोड रुपैयाँसम्म कारोबार गर्ने करदाता हेर्ने गरी क्षेत्र निर्धारण गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।