
वीरगञ्ज (अस) । वीरगञ्ज महानगरका नगरप्रमुख विजयकुमार सरावगीलाई आफ्नै कार्यकर्ताले हातपातको प्रयास गरेका छन् । मेयर सरावगी वीरगञ्जको एक कार्यक्रमबाट फर्किनेक्रममा बुधवार उनी आबद्ध समाजवादी पार्टी नेपालका कार्यकर्ता अजय चौरसियाले कुटपिट प्रयास गरेका हुन् । मेयरका अंगरक्षकले हातपातको प्रयास असफल पारेका थिए ।
चौरसियालाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो । मेयर सरावगीले सो कार्यक्रममा प्रदेश २ को सरकारले महानगरलाई जानकारी नदिई खुद्रे योजनाहरू कार्यान्वयन गरेको भन्दै असन्तोष प्रकट गरेका थिए । प्रदेश सरकारमा समेत समाजवादी पार्टीको नेतृत्व छ ।
प्रदेशले वीरगञ्ज महानगरसँग समन्वय नगरी आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना पठाएको भन्दै उनले पटकपटक आलोचना गर्दै आएका छन् । पार्टीभित्रकै नेताहरूको उक्साहटमा आफूमाथि हातपातको प्रयास भएको सरावगीको दाबी छ । वीरगञ्जको बिीपी उद्यानको जग्गामा महानगरलाई जानकारी नै नदिई प्रदेश सरकारले शहीद पार्क शिलान्यास गरेपछि प्रदेश सरकारको नेतृत्वसँग मेयर सरावगीको तिक्तता बढेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।