बागलुङ (अस) । चालू आर्थिक वर्ष सकिन १९ दिन मात्र बाँकी रहँदा बागलुङको पूँजीगत खर्च निकै कम देखिएको छ । करोडौंको काम गर्नुपर्ने जिल्लाका विकासे कार्यालयले खर्च गर्न नसक्दा धेरै बजेट फ्रिज हुने सम्भावना छ । विकासे कार्यालयहरू भने अन्तिममा रकम भुक्तानी हुने भएकाले बजेट खर्च हुने दाबी गर्छन् ।
चालू आवको असार ९ गतेसम्म जिल्लाको पूँजीगत खर्च ४८ प्रतिशत मात्र छ भने चालू खर्च ८९ प्रतिशत भएको छ । यस्तै प्रदेश सरकारको पूँजीगत खर्च ३५ प्रतिशत र चालू खर्च ६७ प्रतिशत मात्र भएको कोष तथा लेखा नियन्त्रक कार्यालय, बागलुङका सूचना अधिकारी रामकृष्ण सापकोटाले बताए ।
नयाँ शहर आयोजना बुर्तिबाङको पूँजीगत खर्च ११ करोड १० लाखमध्ये असार ९ गतेसम्म १२ लाख २७ हजार खर्च भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालयले २१ करोड ८५ लाख पूँजीगत बजेटममध्ये १९ करोड ६५ लाख खर्च गरेको छ ।
यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाइ, भवनले ८ करोडमध्ये २ करोड ५६ लाख खर्च गरेको छ भने डिभिजन सडक कार्यालयको ३३ करोड ९९ लाखमध्ये हालसम्म १७ करोड ६२ लाख खर्च भएको छ । प्रदेश सरकारतर्फको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको पूँजीगत बजेट ६३ करोड २२ लाखमध्ये २५ करोड ६३ लाख खर्च भएको छ भने शहरी विकास तथा भवन कार्यालयको १४ करोड ४५ लाखमा ५ करोड ४१ लाख मात्र खर्च भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।