६ स्थानीय तहले ल्याउन सकेनन् बजेट

Share News
रौतहट (अस) । रौतहटका १८ ओटा स्थानीय तहमध्ये १२ ओटाले मात्र आगामी आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गतेसम्म बजेट ल्याउनुपर्ने समयसीमा भए पनि ६ ओटा स्थानीय तहले बजेट ल्याउन सकेनन् । जिल्लाका वृन्दावन, गुजरा, कटहरिया, राजदेवी, बौद्धिमाई, र फतुवा विजयपुर नगरपालिकाले नीति तथा कार्यक्रम सहितको बजेट ल्याउन नसकेका हुन् । नीति तथा कार्यक्रममा विवाद, रकमको बाँडफाँटमा असमझदारी लगायतले बजेट सार्वजनिकमा ढिलाइ भएको हो । जिल्लाका चन्द्रपुर, गौर, गरुडा, इशनाथ, गढिमाई, परोहा, मौलापुर, माधवनारायण, देबाही गोनाही, राजपुर नगरपालिका र यमुनामाई तथा दुर्गाभगवती गाउँपालिकाले बजेट ल्याएका छन् । ती स्थानीय तहको नगर तथा गाउँसभामा प्रस्तुत बजेटमा भौतिक पूर्वाधार निर्माणसँगै कृषि, स्वास्थ्य र शिक्षामा जोड दिइएको छ । चन्द्रपुर नगरपालिकाले आगामी आवका लागि रू. १ अर्ब २५ करोडको बजेट ल्याएको छ । नगरले चालू खर्चतर्फ ६८ करोड र पूँजीगततर्फ ५७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख रामचन्द्र चौधरीले बताए । मौलापुर नगरपालिकाको ३० करोड ६८ लाखको बजेट प्रस्तुत गरेको छ । गरुडा नगरपालिकाले रू. ५५ करोड ४२ लाखको बजेट रहेको छ । नगरपालिकाले ‘समृद्ध नगर खुशी नगरवासी’को नाराअनुसार काम गर्ने भएको छ । गौर नगरपालिकाले आगामी आवका लागि रू. ४५ करोड ५७ लाखको बजेट ल्याएको छ । गढीमाई नगरपालिकाको तेस्रो नगरसभाले ४८ करोड ४४ लाख र राजपुर नगरपालिकाले ४२ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।