वीरगञ्ज भन्सारबाट निर्यातको २४ गुणा आयात

Share News
वीरगञ्ज (अस) । मुलुककै ठूलो वीरगञ्ज भन्सारबाट निर्यातको तुलनामा २४ गुणा बढी आयात भएको देखिएको छ । चालू आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको आयात/निर्यातको तथ्यांकले यस्तो देखाएको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको जेठ मसान्तसम्ममा रू. ५ खर्ब ३७ अर्ब ८७ करोड बराबरको आयात भएको छ । निर्यात परिमाण भने रू. २२ अर्ब ७४ करोड मात्र छ । यस वर्ष आयात १५ प्रतिशतले बढेको देखिन्छ । गत आव २०७४/७५ को जेठसम्ममा रू. ४ खर्ब ६६ अर्ब ३ करोडको वस्तु आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । यो नाकाबाट सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पदार्थ आयात भएको भन्सारका सूचना अधिकारी मनीष महतोले बताए । आयात मूल्यका आधारमा सबैभन्दा बढी पैठारी डिजेलको देखिन्छ । त्यसपछि क्रमशः कोइला, एमएस बिलेट, एचआर सीट, खाना पकाउने ग्यास र पेट्रोल पर्छन् । सरकारले गाडीको कर्जामा गरेको कडाइका कारण सवारी साधनको आयातमा तुलनात्मक कमी देखिएको छ । गत आवमा ११ हजार ५४ ओटा जीप कार र भ्यान आयात भएकामा यस वर्ष यो संख्या ८ हजार ५८८ मा झरेको छ । मोटरसाइकलको आयात ९७ हजार ९५६ मा खुम्चिएको छ । आव २०७४/७५ को ११ महीनामा यो संख्या १ लाख २२ हजार ३३५ थियो । आयात घटे पनि सबैभन्दा बढी राजस्व जीप, कार र भ्यानबाट आएको भन्सारको तथ्यांकले देखाउँछ । ११ महीनामा वीरगञ्ज भन्सारले यसको आयातबाट रू. १८ अर्ब ४९ करोड राजस्व संकलन गरेको छ । गाडीमा उच्च दरको अन्तःशुल्कका कारण राजस्व बढी उठेको महतो बताउँछन् । गाडीपछि डिजेल र पेट्रोलबाट बढी राजस्व आएको देखिन्छ । निकासीमा सुधार आयात परिमाणका अगाडि निर्यात नगण्य देखिए पनि गत आव २०७४/७५ को समीक्षा अविधिसँग तुलना गर्दा ७३ प्रतिशत बढी पाइएको छ । वीरगञ्ज भन्सारबाट चालू आव २०७५/७६ मा निकासी मूल्यका आधारमा ७३ प्रतिशत बढी निर्यात भएको सूचना अधिकारी महतोले जानकारी दिए । गत आवको जेठ मसान्तसम्म रू. १३ अर्ब १८ करोड बराबरको निर्यात भएको उनले बताए । यस वर्ष रू. २२ अर्ब ७४ करोड पुगेको छ । खाने तेलको भारततर्फको निकासी बढेको भन्सारको तथ्यांकले देखाउँछ । गत आवमा तेल निर्यात भएको थिएन । तेल उत्पादन बढेपछि यस वर्ष पाम आयलको आयात ह्वात्तै बढेको छ । यो ११ महीनामा १ लाख ९७ हजार ९४८ मेट्रिकटन कच्चा पाम आयल आयात भएको छ । वीरगञ्जबाट जुस पनि उल्लेख्य परिमाणमा निकासी हुन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।