सल्यानमा विमानस्थल निर्माणको सम्भावना कम : नीति तथा कार्यक्रममै समावेश भएन

Share News
बुद्धिमान पुन सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका आफैले थालनी गरेको कामबाट पछाडि हटेको छ । गाउँपालिकाले लेखपोखराको लेखानाचौरमा विमानस्थल बनाउन पहल थाले पनि अघि बढाउन नसकेको हो । गत असोजमा गाउँपालिकाले लेखपोखरा विमानस्थल पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । आरम्भ आर्किटेक्ट एन्ड इन्जिनीयर्स प्रालि काठमाडांैले गरेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा लेखपोखरा विमानस्थल निर्माणका लागि उपयुक्त भएको उल्लेख छ । तर गाउँपालिकाले उक्त विमानस्थल निर्माण योजनालाई आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेटमै समावेश गरेको छैन । विमानस्थल निर्माणका लागि आगामी आवमा बजेट विनियोजन नगरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताए । विमानस्थल निर्माणमा करोडौं लगानी गर्नुपर्ने भएकाले आगामी आवमा यो सम्भव नभएको उनको भनाइ छ । लेखपोखरा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न छत्रेश्वरी गाउँपालिकाले १५ लाख रुपैयाँ विनियोजन गरेको थियो, जसमा ५ लाख खर्च भएको छ । गाउँपालिकाभित्र पूर्वाधार विकास कम भएको, शिक्षा, स्वास्थ्य, कृषिक्षेत्रमा उल्लेख्य काम नभएको, खानेपानी, विद्युत्, सिँचाइ लगायत विकासका काममा प्रगति देखिएको भन्दै गाउपालिकावासीले गाउँपालिकाको विमानस्थल बनाउने योजनामा चासो दिएका थिएनन् । गाउँपालिकाको विकासे बजेट अहिले नै विमानस्थल निर्माणमा लगाउन नसकिएको अध्यक्ष केसीले बताए । ‘विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनलगायत काम गर्‍यौं,’ उनले भने, ‘यस वर्ष विमानस्थलको डीपीआर तयारी हुनेछ ।’ यसका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।