घलेम्दी जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा, दाना सवस्टेशन नबनेसम्म तातोपानी जलविद्युतको प्रसारण लाइन प्रयोग गरिने

Share News

असार २०, म्याग्दी (अस) । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना परीक्षण उत्पादनको अन्तिम तयारीमा जुटेको छ । आयोजनाको निर्माणकार्य सम्पन्न भएसँगै परीक्षण उत्पादनको तयारी भइरहेका आयोजनाका कम्पनी सचिव लक्ष्मीनिधि रिजालले बताए ।

उनका अनुसार आयोजनाको पावरहाउस, पेनस्टक पाइप, ‘सर्ज ट्यांक’, ड्याम, बालुवा थिग्राउने पोखरी, बाँधदेखि पोखरीसम्म नहर निर्माण, डिसेन्डर बेसिन लगाएत विद्युत उत्पादनका लागि आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार निर्माण पूरा भएपछि आयोजना अन्तिम अनुगमनसहीत परीक्षण उत्पादनको तयारीमा जुटेको हो । म्याग्दीमा निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक २०७१ सालबाट निर्माण थालिएको आयोजनाको सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिने छ ।

दानामा सवस्टेशन निर्माणधीन अवस्थामै भएकाले आयोजनाको पहिलो चरणमा उत्पादन भएको विद्युतलाई तातोपानी साना जलविद्युत आयोजनाको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । निर्माणाधीन दाना सवस्टेशन सञ्चालनमा नआउन्जेलसम्म तातोपानी साना जलविद्युत आयोजनाको प्रसारणलाईन मार्फत नै विद्युत प्रसारण गरिने कम्पनी सचिव रिजालले बताए ।

आयोजनाबाट उत्पादन हुने विद्युतलाई विद्युत प्राधिकरणले खरीद गर्नेछ । वार्षिक साढे १८ करोड रुपैयाँ बरावरको विद्युत खरीद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरीद गर्ने उल्लेख छ ।

म्याग्दीका उद्योगी, व्यावसायी र सर्वसाधारणको गरी रू. ९२ करोड लगानीमा शुरु गरिएको घलेम्दी जलविद्युत आयोजनाको लागत बढेर रू. १२० करोड पुग्ने अनुमान गरिएको जलविद्युत आयोजनाका कम्पनी सचिव रिजालले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।