महेन्द्र र चमेरे गुफाका लागि २२ करोडको गुरुयोजना

Share News
कास्की । पोखरा महानगरपालिकास्थित महेन्द्र गुफा र चमेरे गुफाको बृहत् विकास गर्ने उद्देश्यले गुरुयोजना सार्वजनिक गरिएको छ । स्थानीय विन्ध्यवासिनी माविद्वारा संरक्षित दुवै गुफालाई थप आकर्षक बढाउन गुरुयोजना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र थापाले जानकारी दिए । विद्यालयले शुक्रवार गुरुयोजना सार्वजनिक गर्दै प्रारम्भिक कार्यान्वयनका लागि ५० लाख रुपैयाँ लाग्ने बताएको छ । गुरुयोजनामा उल्लिखित योजना सम्पन्न गर्न भने करीब २२ करोड रुपैयाँ खर्च गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक आचार्यले बताए । उनले गुरुयोजनामा भौतिक निर्माण र आन्तरिक तथा बाह्य व्यवस्थापनलाई प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार गुफाको आम्दानीबाट गर्न सकिने काम तत्काल शुरू गरिने र ठूला योजनाका लागि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिनेछ । गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गुफा पोखराका गौरव भएकाले यसको व्यवस्थित विकास गर्न आवश्यक रहेको बताए । सांसद विन्दुकुमार थापाले एकपटक महेन्द्र गुफाको भ्रमण गरेको पर्यटक अर्कोपटक परिवार र साथी लिएर आउने वातावरण बनाउनुपर्ने बताए । त्यस्तै, सांसद पुष्पा केसी भण्डारीले गुफा क्षेत्रमा व्यवस्थित विकास हुनुपर्नेमा जोड दिइन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।