रोशन तिवारी
असार २२, पर्वत । पर्वतमा निर्माणधीन १४.५ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत आयोजनाको काम फेरि रोकिएको छ । तलब नपाएको भन्दै मजदूरहरुले आन्दोलन गरेपछि आयोजनाको काम रोकिएको हो । काम रोकेर आयोजनामा कार्यरत करीब २०० जना मजदूरहरु आन्दोलनमा उत्रिएका छन् ।
यसअघि प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनका कारण जेठ १२ देखि २५ गतेसम्म आयोजनाको काम रोकिएको थियो । उक्त विवाद पीडित समूदायलाई क्षतिपूर्ति दिने सहमतिपछि टुंगिएको थियो । तर, बिगत ५ दिनेदेखि फेरि कामदारहरु तलबको माग गर्दै आन्दोलनमा उत्रिदा आयोजनाको काम अवरुद्ध भएको छ ।
निर्माणाधीन आयोजनामा काम गर्ने २०० जना कामदारको तलबभत्ता ६ महीनादेखि रोकिएकाले काम नै ठप्प पारी आन्दोलनमा उत्रिनु परेको मजदूर युनियनका अध्यक्ष रामजी शर्माले बताए । ‘हामी अन्यायमा परेकाले आन्दोलनमा उत्रिनुपर्ने बाध्यता भयो,’ शर्माले भने, ‘तलब नपाएसम्म काममा फर्किने सोचमा छैनौं ।’ सञ्चयकोषको रकम समेत कटौती गरिएको तर आफूहरुको खातामा जम्मा नगर्ने गरेको शर्माले गुनासो गरे । आयोजना पक्षले कामदारको श्रम शोषण गर्न खोजेको भन्दै न्याय खोज्न आन्दोलन गरेको उनको भनाइ छ ।
समस्या समाधानको प्रयास भैरहेको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । मजदूर र आयोजना पक्षसँग छलफल थालेको पौडेलले बताए । ‘समस्याका बारेमा हामीले सघन छलफल शुरु गरेका छौं,’ पौडेलले भने, ‘दुबै पक्षका कुरा सुनेर समाधान खोज्छौं ।’ आयोजनाको काम कुनै हालतमा रोकिनुहुन्न भनेर मध्यस्तता गरिरहेको अध्यक्ष पौडेलले बताए ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सकेसम्म गाउँपालिकालाई विवाद मिलाउन भनिएको र नमिले जिल्ला प्रशासन कार्यालयले दुबै पक्षलाई बोलाएर समस्याको निकास निकाल्ने बताईन् । ‘सकेसम्म उहाँहरुले कुरा मिलाएको राम्रो हुन्छ,’ नेपालले भनिन्, ‘कामदारहरुलाई अन्याय नहोस् भन्ने हाम्रो मान्यता हो ।’
चौधरी ग्रुपले बनाउन थालेको यो आयोजना २०७१ साल मङ्सिरमा शुरु भई ०७४ मङ्सिरभित्र सक्ने लक्ष्य लिइएको थियो । विभिन्न खालका अवरोधका कारण पटक–पटक आयोजनाको काम रोकिँदै आएको छ ।
अवरोध हुँदै जाँदा आयोजनाको लागत पनि बढ्दै जान्छ । आयोजनाले शुरुका केही समय भूकम्प र भारतीय नाकाबन्दीको मार खेप्नुप¥यो । पछिल्लो समय प्रभावित क्षेत्रका बासिन्दा र मजदूरहरु विरोधका उत्रिन थालेका छन् । २ हजार ६९३ दशमलव ३० मिटर सुरुङ निर्माण सकेर अहिले पावर हाउस तयार पार्न थालिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।