काठमाडौं । पूर्वाधार भए/नभएको यकिन नगरी भारतीय तरकारी र फलफूल आयातमा विषादी परीक्षण अनिवार्य गर्ने निर्णय लिनु गल्ती भएको बताउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले माफी मागेका छन् । स्वदेशी आयातकर्ताको मागपछि आयात खुलाइएको दाबी पनि उनको छ ।
मन्त्रालयमा सोमवार आयोजित आकस्मिक पत्रकार सम्मेलनमा उनले पूर्वतयारी विना नै विषादी परीक्षण थालिएकोमा माफी मागेका हुन् । त्यसका लागि भारतीय दूतावासको दबाब वा पत्र तथा प्रधानमन्त्रीको ठाडो आदेश नआएको उनले दाबी गरे । ‘भारतबाट पैसा तिरेर आयात गरिएको तरकारी नाकामा रोकिँदा करोडौं घाटा लाग्ने बताउँदै स्वदेशी व्यापारीले आयात खुला गर्न अनुरोध गरेपछि खुलाइएको हो,’ उनले भने ।
तरकारीमा विषादीको परीक्षण गर्ने प्रस्ताव उद्योग मन्त्रालयले नै गरेको उल्लेख गर्दै उनले भने, ‘आवश्यक पूर्वाधार भए÷नभएको जानकारी नलिई प्रस्ताव गर्नु मेरो गल्ती थियो ।’ यस विषयमा अन्य तीनओटा मन्त्रालयका सचिवहरूले सरकारलाई असहयोग गरेको दाबी पनि उनको थियो । प्रधानमन्त्री कार्यालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवले सही जानकारी नदिँदा गल्ती भएको उनको भनाइ थियो ।
अहिले पनि परीक्षण नै नगरी पैठारी खुला गरिएको नभई पुरानै ढाँचाबाट आयात शुरू भएको मन्त्री यादवले बताए । ‘पहिलेकै ढाँचाबाट परीक्षण भइरहेको छ । तर, आधुनिक तरीकाले परीक्षण गर्न पूर्वाधार नभएको मात्र हो,’ उनले भने । सरकारले हालै व्यापारघाटा न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्दै भारतबाट आयात हुने तरकारीको क्वारेन्टाइन जाँचमा कडाइ गरेको थियो । तर, नेपालसँग विषादी परीक्षण गर्न सक्ने आधुनिक प्रयोगशाला नभएको उल्लेख गर्दै सरकारले उक्त निर्णय फिर्ता लिएको छ । पूर्वाधार तयार भएलगत्तै विषादी परीक्षणलाई थप सुदृढ बनाइने मन्त्री यादवले बताए ।
विराटनगरमा विषादी परीक्षण केन्द्र तयार
विराटनगर (अस) । प्रदेश–१ सरकारले विराटनगरको रानीमा फलफूल तथा तरकारीको विषादी प्रयोगशाला तयार गरेको छ । प्रयोगशाला सञ्चालनका लागि काठमाडौंबाट प्राविधिक सहितको टोली ल्याइएको र त्यसले ल्याबको परीक्षणका साथै प्राविधिकहरूलाई आवश्यक तालीम दिइसकेको प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बताएको छ ।
फलफूल तथा तरकारीमा रहेको विषादीको अवशेष परीक्षण गर्न स्थापना गरिएको सो प्रयोगशाला सोमवारदेखि सञ्चालनमा आएको मन्त्रालयका सचिव हस्तबहादुर विष्टले जानकारी दिए । आर्थिक अभियानसँग कुरा गर्दै सचिव विष्टले संघीय सरकारले भारतबाट आयात भएका फलफूल तथा तरकारीको परीक्षण गर्न अनुमति दिएको खण्डमा तत्काल काम शुरू गर्न सकिने बताए ।
उपसचिवसहित ६ जना प्राविधिकको दरबन्दी रहेको प्रयोगशाला २५ लाख रुपैयाँको लागतमा तयार भएको हो । मन्त्रालयले आगामी आर्थिक वर्षभित्र धरानमा पनि सोही क्षमताको ल्याब निर्माण गर्न लागेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।