चितवनमा इन्धन भण्डारण केन्द्र निर्माण अन्योलमै

Share News
युवराज बस्नेत काठमाडौं । भारतको मोतिहारीबाट बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जडान अन्तिम चरणमा रहँदा चितवनमा भण्डारण केन्द्र निर्माणको विषय अन्योलमै छ । उक्त पाइपलाइन चितवनसम्म विस्तार गर्ने सरकारको योजना छ । हाल अमलेखगञ्ज र काठमाडौंमा मात्र इन्धन भण्डारण केन्द्र छन् । पाइपलाइन चितवनसम्म विस्तार गर्दा त्यहाँ नयाँ भण्डारण केन्द्र निर्माण गर्नुपर्छ । चितवनको भण्डारण केन्द्रबाट प्रदेश–३ का लागि इन्धन आपूर्ति गर्ने नेपाल आयल निगमको योजना छ । निगमका अनुसार अमलेखगञ्ज डिपोको क्षेत्रफल सीमित रहेकाले आपूर्ति थप सहज बनाउन चितवनमा भण्डारण केन्द्र निर्माण आवश्यक देखिएको हो । त्यसका लागि करीब २० बिगाहा जग्गा समेत निगमले खरीद गरिसकेको छ । निगमका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले भने इन्धन भण्डारण केन्द्र चितवन र जनकपुरमध्ये कहाँ निर्माण गर्ने भन्ने टुंगो लागिनसकेको बताए । तर, निगमका प्रवक्ता वीरेन्द्र गोइतले चितवनसम्म पाइपलाइन विस्तार गर्न इन्डियन आयल कर्पोरेशन (आईओसी) सँग विभिन्न चरणमा छलफल भइरहेको बताए । मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको लम्बाइ करीब ७० किलोमीटर छ । अमलेखगञ्जबाट चितवनसम्म पाइपलाइन बिछ्याउन सम्भव रहेको प्रतिवेदन निगम र आईओसीको संयुक्त अध्ययन टोलीले यसअघि नै दिइसकेको छ । अमलेखगञ्ज–चितवन पाइपलाइनको लम्बाइ ५९ किमी हुने उक्त प्रतिवेदनमा उल्लेख छ । भैरहवा र भद्रपुरमा हवाई इन्धन डिपो निगमले रूपन्देहीको भैरहवा र झापाको भद्रपुरमा हवाई इन्धन भण्डारण केन्द्र निर्माण गर्ने भएको छ । दुवै स्थानमा १ महीनाको माग धान्नेगरी भण्डारण केन्द्र बनाउन लागेको हो । त्यसका लागि डीपीआर तयार भइसकेको निगमले बताएको छ । निगमले उक्त डीपीआर स्वीकृतिका लागि १ साताअघि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन छ । आन्तरिक उडानमा व्यस्तमध्येको हो, भद्रपुर विमानस्थल । भैरहवामा १० हजार किलोलिटर र भद्रपुरमा १६ सय किलोलिटर क्षमताका भण्डारण केन्द्र निर्माण गर्न लागिएको हो । भैरहवामा भण्डारण हुने इन्धनबाट चितवनदेखि धनगढीसम्म र भद्रपुरको केन्द्रबाट जनकपुर विमानस्थलसम्मको माग धान्ने निगमको भनाइ छ । भैरहवाको भण्डारण केन्द्रको लागत साढे २ अर्ब र भद्रपुरका लागि ३० देखि ५० करोड रुपैयाँ लाग्ने निगमको अनुमान छ । नेपालमा मासिक करीब ३० हजार किलोलिटर हवाई इन्धन आयात हुन्छ । विराटनगर र पोखरा विमानस्थललाई लक्षित गर्दै निगमले भण्डारण केन्द्र निर्माण गर्ने योजना पनि बनाएको छ । पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन रहेकाले हवाई इन्धन भण्डारण केन्द्र आवश्यक देखिएको निगमको भनाइ छ । सिलिगुडी–विराटनगर पाइपलाइनको योजना नेपाल आयल निगमले भारत पश्चिमबंगालको सिलिगुडीदेखि विराटनगरसम्म पाइपलाइन निर्माण गर्ने योजना पनि अगाडि सारेको छ । त्यसबारे निगम र आईओसीबीच छलफल चलिरहेको छ । अमलेखगञ्ज–मोतिहारी पाइपलाइन सञ्चालनमा आएपछि उक्त परियोजना अगाडि बढाउने निगमको तयारी छ । यस्तै, भारतको गोरखपुरदेखि सुनौली नाकासम्म प्राकृतिक ग्यासको पाइपलाइन निर्माण गर्ने सम्बन्धी योजना पनि रहेको प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।