पूँजीगत लाभकर संकलन : सम्भावना ठूलो, संकलन न्यून

Share News

उत्तम अर्याल

काठमाडौं । सरकारले आयकर शीर्षक अन्तर्गत उठाउने पूँजीगत लाभकर धेरै संकलन हुने सम्भावना हुँदाहुँदै पनि प्रणालीगत समस्या, अनुगमनमा कमी र कर संकलनको समीक्षा नहुँदा न्यून उठ्ने गरेको छ । हाल आन्तरिक राजस्व विभागले घरजग्गा, शेयर र कम्पनीको नियन्त्रण परिवर्तन हुँदा पूँजीगत लाभकर उठाउने गरेको छ । तर, यस शीर्षकमा संकलन हुनुपर्ने भन्दा निकै कम रकम विभागले संकलन गर्ने गरेको छ ।

कुनै पनि पूँजीगत सम्पत्ति वा पूँजीगत दायित्वको निसर्ग गर्दा प्राप्त हुने लाभमा तिरिने कर नै पूँजीगत लाभकर हो । विभागले रू. १० लाखभन्दा बढीको घरजग्गा कारोबार हुँदा अधिकतम १० प्रतिशत, शेयरबजारमा प्राकृतिक व्यक्तिलाई ५ प्रतिशत, संस्थागतको हकमा १० प्रतिशत र कम्पनीको विगत ३ वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी नियन्त्रण परिवर्तन भएमा २५ देखि ३५ प्रतिशतसम्म पूँजीगत लाभकर लिने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म कुल पूँजीगत लाभकर १० अर्ब १९ करोड ६७ लाख रुपैयाँ संकलन भएको छ ।

गत आवमा ८ अर्ब १७ करोड ३६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको विभागले आव २०७३/७४ मा भने त्यसवापत २० अर्ब ७६ करोड ४७ लाख रुपैयाँ उठाएको थियो । यद्यपि, यस्तो रकम खर्बको हाराहारीमा उठ्नुपर्ने करविज्ञको भनाइ छ । महालेखा परीक्षकको कार्यालयले आप्mनो वार्षिक प्रतिवेदनमा पनि पूँजीगत लाभकर छुट्दै आएको उल्लेख गर्ने गरेको छ ।

कार्यालयको ५६औं प्रतिवेदनमा ‘मालपोल कार्यालयहरूबाट प्राप्त अभिलेख अनुसार घरजग्गा निसर्ग गरेका निकायहरूले पूँजीगत लाभकर नतिरेको अवस्थामा कर छूट भएको’ उल्लेख गरेको छ । महालेखाले ११ कर कार्यालय मातहतका २० करदाता कम्पनीको नियन्त्रण परिवर्तन हुँदा तिनुपर्ने करबारे छानविन गर्दा करीब २ करोड रुपैयाँ असुल गर्न छानविन गर्नुपर्ने देखिएको बताएको छ ।

कार्यालयका नायब महालेखापरीक्षक वामदेव शर्मा अधिकारीका अनुसार घरजग्गामा सरकारको मूल्यांकन र वास्तविक खरीदविक्रीमा ठूलो मूल्यान्तर रहेको र थैली कम देखाउँदा सो शीर्षकमा पूँजीगत लाभकर छुटिरहेको छ । ‘शेयर तथा कम्पनीको नियन्त्रण परिवर्तन हुँदा पनि असुल हुनुपर्ने पूँजीगत लाभकरमा ध्यान दिनुपर्ने देखिन्छ,’ उनले भने ।

विभागले व्यक्तिगत र कर्पोरेट गरी दुई शीर्षकमा पूँजीगत लाभकर उठाउने गरेको छ । व्यक्तिगततर्पm एकल फर्म, व्यक्तिगत घरजग्गा कारोबार पर्छ भने कर्पोरेटतर्पm धेरै शेयर होल्डर हुने कम्पनीहरू पर्छन् । व्यक्तिगतभन्दा कर्पोरेट शीर्षकमा कम्पनीहरूको कारोबार अनुसार कर संकलन न्यून हुँदै आएको छ ।

कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७५/७६ को असार मध्यसम्म ७ हजार ८९९ कम्पनीको नियन्त्रण परिवर्तन भएको छ । गत आव २०७४/७५ मा ९ हजार ७२२ र आव २०७३/७४ मा ८ हजार ८३४ कम्पनीको नियन्त्रण परिवर्तन भएको थियो । यो संख्यामा १० प्रतिशत अर्थात् ८/९ सय कम्पनीले मात्र पूँजीगत लाभकर तिर्नुपर्ने भए पनि कर्पोरेट पूँजीगततर्फ अहिलेको भन्दा बढी कर उठ्न सक्ने देखिन्छ ।

२०५८ सालमा कम्पनी रजिस्ट्रार कार्यालयसँग विभागले सूचना आदान प्रदान सम्बन्धी सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार कम्पनी रजिस्ट्रारले शेयर स्वामित्व परिवर्तन हुँदा त्यसको प्रमाणपत्र एउटा करदातालाई दिने र एउटा विभागलाई बुझाउनुपर्छ । तर, त्यस्तो प्रमाणपत्र करदातालाई नै थमाइदिने हुँदा करदाता विभागमा कमै पुग्ने गरेका छन् । यसले गर्दा पनि कर्पोरेट पूँजीगततर्फको कर कम उठ्ने गरेको छ ।

विभागले पूँजीगत लाभकरको सम्बन्धमा खासै समीक्षा नगर्ने भएकाले कम वा धेरै उठ्यो भनेर थाहा नहुने विभागकै पदाधिकारी बताउँछन् । विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेल भने पूँजीगत लाभकर स्वाभाविक रूपमा नै उठिरहेको दाबी गर्छन् । ‘पूँजीगत लाभकर ‘बजारको मुभमेन्ट’ अनुसार उठ्ने हो,’ उनले भने, ‘शेयर तथा घरजग्गा कारोबार घटबढ हुँदा वा कम्पनीको नियन्त्रण परिवर्तनमा उचारचढाव हुँदा पूँजीगत लाभकर पनि कम वा बढी उठ्न सक्छ ।’

५० प्रतिशतभन्दा बढी शेयर स्वामित्व खरीदविक्री भएकाहरूले आय विवरण र पूँजीगत लाभकर तिरिरहेको उनले बताए । उनले भने, ‘कम्पनी स्वामित्व हेरफेर हुँदा नाफा र नोक्सान दुवै हुन सक्छ । त्यही अनुसार करदाताले कर तिर्ने हो ।’ पूँजीगत लाभकर छली नहोस् भन्नका लागि मालपोत कार्यालयदेखि नेप्सेसम्ममा अनुगमन र सहकार्य गर्दै आएको उनले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।