कक्षा ११ भर्नाका लागि विद्यालयको कमी छैन

Share News
काठमाडौं । कक्षा ११ र १२ अब विद्यालय शिक्षाभित्रैका कक्षा हुन् । कतिपय विद्यालयमा कक्षा १२ सम्मै सञ्चालन हुन्छन् भने कतिपय विद्यालयमा कक्षा ३, ५, ८ वा १० सम्म मात्र पनि सञ्चालनमा हुन सक्छन् । विद्यालय शिक्षामै गाभिइसकेको कक्षा ११ मा विनाप्रवेश परीक्षा विद्यार्थी भर्ना गर्न सकिन्छ । तर विद्यार्थी भर्नाका आवेदन विद्यालयको क्षमताभन्दा धेरै भयो भने आवश्यक मात्र विद्यार्थी भर्ना लिन प्रवेश परीक्षा गर्न सकिने व्यवस्था छ । प्रवेश परीक्षा लिने व्यवस्था अर्को विद्यालयबाट आएका विद्यार्थीको हकमा लागू भए पनि सोही विद्यालयको कक्षा १० उत्तीर्ण गरेका विद्यार्थीलाई भने लागू नहुने शिक्षा विभागका प्रवक्ता दीपक शर्माले बताए । ‘एउटा विद्यालयमा एकपटक भर्ना भइसकेको विद्यार्थीलाई पुनः भर्ना गरिरहनु पर्दैन,’ उनले भने, ‘त्यसैले बाहिरबाट आउने विद्यार्थीका लागि प्रवेश परीक्षा लिए पनि त्यहीँका विद्यार्थी स्वतः माथिल्लो तहमा भर्ना हुन पाउँछन् ।’ कुनै विद्यालयले आफ्नै विद्यार्थीका लागि पनि प्रवेश परीक्षाको अनिवार्यता गरे सम्बन्धित स्थानीय तहको सरकारले शिक्षासम्बन्धी आफ्नो कार्यविधिअनुरूप कदम चाल्ने प्रवक्ता शर्माले बताए । कक्षा १० सम्म एउटा विद्यालयमा पढेका विद्यार्थी कक्षा ११ मा अर्को विद्यालयमा पढ्न चाहने भएकाले मात्र प्रवेश परीक्षाले व्यापकता पाएको शिक्षक सुमन शर्माको भनाइ छ । ‘कक्षा १० सञ्चालन गरेका कतिपय विद्यालयले कक्षा ११ र १२ पनि सञ्चालन गरेका छन्,’ उनले भने, ‘तर १० कक्षापछि विद्यार्थीले विद्यालय परिवर्तन गर्न चाहने भएकै कारण प्रवेश परीक्षा लिनुपर्ने आवस्था आउँछ ।’ कक्षा ११ सञ्चालन गर्ने विद्यालयहरूको पर्याप्तताका कारण प्रवेश परीक्षा नै लिए पनि आत्तिनु नपर्ने उनको सुझाव छ । अक्षर ग्रेडिङ प्रणालीका कारण कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने हुँदा विद्यार्थीले भर्ना नै नपाउने हुन् कि भन्ने आशंका छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को तथ्यांकअनुसार पछिल्ला वर्षमा देशभरिमा गरी कक्षा १० सम्म पढाउँदै आएका करीब ३५ प्रतिशत निजी विद्यालयले कक्षा ११ र १२ का कक्षा थप गरेका छन् । साथै लगभग त्यसकै हाराहारीमा सामुदायिक विद्यालयतर्फ पनि थपिएको हुनाले कक्षा ११ मा भर्ना नपाइने पो हो कि भन्ने आशंकाबाट मुक्त हुन प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाको आग्रह छ । ग्रेडअनुसार विषय ग्रेड प्वाइन्ट एभरेज (जीपीए)को विधिले विद्यार्थीको रुचिअनुसार विषय छनोटमा सहज गराएको छ । साथै पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरेको छ । जीपीए भनेको विद्यार्थीको मूल्यांकन स्तरीकरणको अक्षरमा गरिएको आनुसंख्यिक (ग्रेडिङ) मान हो । गतवर्षदेखि कक्षा १० को परीक्षाफल प्रकाशनमा अक्षरांकन पद्धति लागू भएको हो । सोही बेलादेखि कक्षा ११ मा भर्ना हुन न्यूनतम आधारहरू तय भएको हो, जसअनुसार कक्षा ११ मा कुन विषय पढ्न कक्षा १० को परीक्षामा कुन विषयमा कुन ग्रेड ल्याउनुपर्ने भन्ने उल्लेख गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले पनि कक्षा १० को परीक्षा (एसईई)का लागि सोही आधारलाई निरन्तरता दिएको छ । अक्षरांकन पद्धतिअनुसार प्रत्येक १० अंकमा एक अक्षरांकन पर्ने व्यवस्था गरिएको छ । यसरी गरिएको व्यवस्थाअनुसार प्रमुख मानिएका विषयहरू अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा न्यूनतम डी प्लस ल्याउने विद्यार्थीले मात्र कक्षा ११ मा भर्ना हुन पाउने तय भएको छ । अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अन्य दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ । जीपीए २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् । यो समूहमा पढ्न चाहनेले एसईई परीक्षामा अनिवार्य विज्ञान र गणितमा सी प्लस ग्रेड ल्याएको हुनुपर्छ । त्यसैगरी व्यवस्थापन, शिक्षा, मानविकी संकाय अध्ययन गर्न कम्तीमा १ दशमलव ६ जीपीए ल्याउनुपर्ने हुन्छ । ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा जीपीए १ दशमलव ६ हुन्छ । सैद्धान्तिक र प्रयोगात्मक दुवै परीक्षा हुने विषयको अलग अलग ग्रेडिङको व्यवस्था छ । समग्रमा विद्यार्थीले ल्याएको प्राप्तांकका आधारमा उसले सम्बन्धित विषय पढ्न पाउने/नपाउने निर्धारण हुन्छ । एसईईमा कम ग्रेड ? आत्तिनु पर्दैन, धेरै छन् अवसर एसईई परीक्षाको नतीजा भर्खरै सार्वजनिक भएको छ । यतिबेला राम्रो ग्रेडमा परीक्षामा पास भइयो भनेर केही विद्यार्थी खुशीले गदगद भइरहँदा आधाभन्दा धेरैचाहिँ ११ मा भर्ना पाउने हो कि होइन, भनेर निराश र खिन्न छन् । तर नराम्रो हुँदैमा सबै खत्तम भयो भनेर चिन्ता नमान्नेका लागि सफल हुने बाटो जति पनि रहेको छ । खासमा एसईईभन्दा महत्त्वपूर्ण तथा गाह्रो परीक्षा अझै धेरै बाँकी छन् भन्ने बुझ्न पनि उत्तिकै जरुरी छ । हुन पनि असफल तिनै हुन्छन्, जसले प्रयास गर्छन् । हो, घोडा चढ्ने नै त लड्छ नि । तर लडेकोमा निराश नभई उठेर पुनः दूरी नाप्ने नै गन्तव्यसम्म पुग्छ । त्यसैले असफल भएकामा निराश हुनुभन्दा प्रयास गरेकामा आफ्नो प्रशंसा गर्नु उपयुक्त हुन्छ । असफल हुनेलाई मौका एसईईमा २ विषयसम्म अनुत्तीर्ण भएकाले पूरक परीक्षा दिन पाउँछन् । पूरक परीक्षामा पास भएमा अहिले पास भएकाहरूसँगै कलेज पढ्न पाइन्छ । त्यसैले दुई विषयसम्म कम ग्रेड लागेकाले चिन्ता गर्नुपर्ने ठाउँ नै छैन । त्यसमाथि पास हुनेहरूलाई उच्चशिक्षा पढ्ने ठाउँ भएजस्तै एसईई नराम्रो हुनेहरूका लागि पनि सीटीईभीटीका प्राविधिक विषय पढ्ने अवसर पर्याप्त छन् । जिन्दगी बिताउन रोजगारी आवश्यक पर्छ । सीटीईभीटीले एसईई पाससम्म गरेका लागि इञ्जिनीयरिङ, स्वास्थ्यलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित व्यावहारिक तथा प्राविधिक तालीमसमेत उपलब्ध गराउँदै आएको छ । पढाइ लेखाइको मुख्य उद्देश्य भनेको रोजगार हुनु हो । विभिन्न प्राविधिक तथा व्यावहारिक तालीम लिएर एसईईविनै पनि स्वरोजगार हुने अवसर प्रशस्त छ । त्यसैले चिन्ता लिइरहनुपर्दैन । शीप सिक्न एसईई पास हुनैपर्छ भन्ने छैन । पास हुनेका साथै असफल हुनेका लागि समेत लक्षित गरी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले मोबाइल मर्मत, कम्प्युटर मर्मत, रेडियो र टेलिभिजन मर्मत, मोटरसाइकल मर्मतलगायत तालीम सञ्चालन गर्दै आएका छन् । यस्ता तालीम लिएर स्वरोजगार भई राम्रो आम्दानी गर्नुका साथै अन्यका लागि पनि रोजगारी सृजना गर्न सकिन्छ । यस्तै कृषि पेशामा लागेर उदाहरणीय काम गरेका युवाको संख्या पनि उत्तिकै छ । सरकारले गाईपालन, माछापालन, बंगुरपालन आदि व्यवसाय गर्न चाहने युवाका लागि अनुदानको व्यवस्था गरेको छ । तरकारी र फलफूलखेतीमा पनि आयआर्जनका बाटा प्रशस्त छन् । हातमा प्रमाणपत्र मात्र भएर हु“दैन, सबैभन्दा ठूलो कुरा शीप हो । तपाईंसँग शीप छ भने जिन्दगीमा अवश्य सफल हुनुहुन्छ । परीक्षा र प्रमाणपत्र मात्रै सफलताको सूचक पनि होइन । जिन्दगीको वास्तविकता बुझ्नेलाई थाहा होला, ‘पढेर होइन, परेर जानिन्छ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।