कम्तीमा आठ लिटर दूध विक्री गर्ने कृषकलाई पुरस्कार !

Share News
असार २७, बर्दिवास । महोत्तरी जिल्लाको औरही नगरपालिकाका दुग्ध उत्पादक किसान अब पुरस्कृत हुने भएका छन् । नगरपालिकाको भर्खरै सम्पन्न चौथो नगरसभाले आफूले पालेको गाई, भैंसीबाट दैनिक कम्तीमा आठ लिटर दूध उत्पादन गर्ने किसानलाई वर्षेनी रू. २५ हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । नगरसभाको यो निर्णयले दुग्ध उत्पादक पशुपालक किसान उत्साहित भएका छन् । यो कार्यक्रम आउने नयाँ आर्थिक वर्ष २०७६/ ७७ मै शुरु गरिने नगरप्रमुख सुनिलकुमार यादवले बताए । नगरसभाले उन्नतजातका दुधालु गाई, भैंसी पाल्ने किसानलाई थप प्रोत्साहन गर्ने निर्णयसमेत गरेको नगरप्रमुख यादवले बताए । ‘समृद्धिको मुख्य आधार हाम्रो परिवेशमा कृषि नै हो’, प्रमुख यादवले भने,‘त्यसैले भर्खरै सम्पन्न नगरसभाले आफ्ना योजनामा कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।’ नगरपालिकाले दैनिक कम्तीमा आठ लिटर दूध आफ्नै घरमा उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने निर्णय गरेपछि किसान उत्साहित बनेका छन् । ‘यी गाई/ भैंसी पाल्ने, गोबर सोहोर्ने हामी नगरपालिकाको नजरमा के पथ्र्यो भन्ने लाग्थ्यो’, औरही नगरपालिकाको सोनामाइ टिम्कीयाका जगदीश दासले भने, ‘तर, यसपालि नगरपालिकाले हामीलाई पनि हेरेछ, दुग्ध उत्पादन बढाउन यो निर्णयले उत्साह थपेको छ ।’ नगरपालिका क्षेत्रभित्र अहिले कम्तीमा आठ लिटर दूध दैनिक उत्पादन गर्ने किसानको संख्या १०० को हाराहारीमा रहेको प्रारम्भिक लगत आएको नगरप्रमुख यादवले बताए । ‘पहिलो चरणमा पुरस्कृत गर्न सँगै दुग्ध उत्पादक किसानलाई थप सहयोगका प्याकेज ल्याइनेछन्’, प्रमुख यादवले भने, ‘उन्नतजातका दुधालु गाई/ भैंसी पाल्ने किसानलाई त्यस्ता पशुको खरीद र स्याहारसम्भारलाई सजिलो बनाउन आउने आर्थिक वर्षभित्रै थप योजना ल्याइनेछ ।’ दुधालु पशुवस्तुको प्रजननका लागि कृत्रिम गर्भाधानको व्यवस्था गरिनुका साथै उन्नतजातका साँढे र राँगा पाल्न किसानलाई प्रोत्साहन दिइने प्रमुख यादवको भनाइ छ । आउने नयाँ आर्थिक वर्षका योजनामा दुग्ध उत्पादन प्रयोजनको पशुपालन, मासु उत्पादन प्रयोजनको पशुपालन मात्र नभएर तरकारी खेती, फलफूलखेती र अन्नबाली उत्पादनमा पनि जोड दिइने नगरसभाको निर्णय छ । यस प्रयोजनका लागि नगरका सबै वडामा सिँचाइ व्यवस्था प्रबन्ध गर्न कृषि विद्युतीकरण, नयाँ ट्रान्सफर्मर जडान र डिपबोरिङ जडान गरिने निर्णय भएको प्रमुख यादवको भनाइ छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।