वीरगञ्ज । तेस्रो मुलकबाट भारतको कोलकातामा कस्टम ट्रान्जिट डिक्लरेशन (सीटीडी) प्रक्रियामा नेपालका लागि आउने कण्टेनर ढुवानीमा कोलकाता पोर्ट ट्रष्टले अवरोध गरेको छ । पोर्टले सीटीडीमा आएका कण्टेनर रेलमा लोड गर्न आनाकानी गरेपछि आयातकर्ताले ढुवानीको वैकल्पिक उपाय अपनाएका छन् ।
इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (ईसीटीएस) मा ढुवानी हुने कण्टेनरसँग सीटीडी प्रक्रियामा जाँचपास भएका कण्टेनर पोर्ट ट्रष्टले बन्दरगाहबाट लोड गर्न अनुमति नदिएपछि कोलकाताकै सिटी केयर (कण्टेनर गोदाम)मा पु¥याएर रेलमा लोड गरिएको छ । शनिवार ६२ ओटा कण्टेनर लोड भएको नेपाल कार्गो ह्याण्डलिङ एजेण्ट एशोसिएशन (एनईसीएचएए)का एक अधिकारीले आर्थिक अभियानलाई जानकारी दिए ।
पोर्ट अधिकारीले सीटीडीमा आएका ९० कण्टेनर नपुगेसम्म लोड गर्न नदिने अडान लिएका थिए । पोर्टको असहयोगका कारण कण्टेनर १३ दिनसम्म बन्दरगाहमा अड्किएको आयातकर्ताले बताए । नेपालका लागि कण्टेनर ढुवानी गर्ने भारतीय कण्टेनर निगम लिमिटेड (कोन्कर) ढुवानीका लागि तयार भए पनि बन्दरगाह व्यवस्थापनले रोकेको आयातकर्ताले बताएका छन् ।
१८ कण्टेनरको अतिरिक्त भाडा तिर्ने शर्तमा कोन्करसँग र्याक लिएर सिटी केयरबाट कण्टेनर लोड गरेका छन् । अतिरिक्त भाडावापत प्रतिकण्टेनर २४ हजार रुपैयाँ बढी खर्च परेको एक एजेण्टले जानकारी दिए । त्यसबाहेक आयातकर्तामाथि १३ दिनको जरीवाना पनि थपिएको छ । प्रतिकण्टेनर एक दिनको जरीवाना २४ हजार रुपैयाँ पर्छ । यसबाट अतिरिक्त भाडा र जरिवाना गरी ४८ हजार रुपैयाँ खर्च थपिएको छ ।
ईसीटीएस र सीटीडीमा पास भएका कण्टेनर एउटै रेलमा पठाउँदा कण्टेनर व्यवस्थापनमा समस्या आउने पोर्ट ट्रष्टका अध्यक्ष विनितकुमारले बताए । ‘एउटै रेलमा ईसीटीएस र पुरानो सीटीडी प्रक्रियाको कण्टेनर लोड गर्दा त्यसको व्यवस्थापनमा समस्या आउने भएकाले रोकिएको हो,’ अध्यक्ष विनितकुमारले आर्थिक अभियानसित भने, ‘पूरै ¥याक सीटीडी प्रक्रियाका कण्टेनर भए हामीलाई समस्या छैन ।’ एउटा रेल र्याकले ८० देखि ९० ओटा कण्टेनर बोक्छ ।
एउटै र्याकमा दुवै प्रक्रियाका कण्टेनर लोड गर्दा कुन कण्टेनरमा ईसीटीएस लगाउने र कुनमा नलगाउने भन्नेमा कर्मचारी झुक्किने र सीमावर्ती भन्सारको प्रक्रियासमेत असहज हुने दाबी विनितकुमारले गरे । तर, आयातकर्ता एउटै र्याकमा लोड गर्न कुनै समस्या नहुने दाबी गर्छन् । गत फागुन ३ देखि ईसीटीएस लागू भएकामा चैत १६ सम्म दुवै प्रक्रियाका कण्टेनर एउटै र्याकमा लोड भएका थिए । त्यसबेला ईसीटीएसका कण्टेनर १० प्रतिशतभन्दा बढी नभएको दाबी आयातकर्ताको छ ।
कण्टेनरमा ईसीटीएस लगाउने कि सीटीडी प्रक्रियामा पास गर्ने भन्ने विषय कोलकाता भन्सारको क्षेत्राधिकारमा पर्ने दाबी एनईसीएचएए पदाधिकारीको छ । पोर्टले ईसीटीएस प्रवर्द्धनका लागि पुरानो प्रक्रियामा आएका कण्टेनरमा झमेला खडा गरेको आरोप उनीहरूको छ । कोलकाता बन्दरगाहमा हुने भन्सार प्रक्रियाले ढुवानी खर्च बढाएको भन्दै गत चैत १७ देखि रेलमार्पmत हुने ढुवानीमा ईसीटीएस अनिवार्य गरिएको थियो ।
ईसीटीएस नेपाल–भारत पारवहन सन्धिको प्रावधान विपरीत भएको बताउँदै एनईसीएचएए अदालत पुगेको थियो ।
सन्धि संशोधन गरी ईसीटीएसको प्रावधान नराख्दासम्म कोलकाता भन्सारले यो प्रक्रिया अनिवार्य गर्न नमिल्ने आदेश कोलकाता उच्च अदालतले दिएको थियो । अदालतले जेठ २९ मा दिएको आदेशको कार्यान्वयन भन्सारले २० दिनपछि मात्र गरेको थियो । अदालतले प्रक्रिया स्वेच्छिक हुने आदेश गरेपछि ईसीटीएस र सीटीडी दुवैबाट पास भएका कण्टेनर रेलमार्फत ढुवानीको बाटो खुलेको हो ।
विगतदेखि चलिआएको सीटीडीमा कोलकाता भन्सारमा कागजी प्रक्रिया पूरा गर्नुपर्छ । यसमा आयातकर्ताका एजेण्टको भूमिका हुन्छ । एजेण्टका कारण ढुवानीमा अनपेक्षित खर्च बढेको बताउँदै आयातकर्ताले ईसीटीएस प्रणाली लागू गर्न माग गरेका थिए । यो प्रणालीमा कोलकाता भन्सारको प्रक्रिया सीमावर्ती भारतीय भन्सारमा हुन्छ । यस प्रक्रियामा कोलकाता भन्सारमा जीपीएसमा आधारित ईसीटीएस लगाइन्छ । यसबाट कण्टेनरको अवस्थिति थाहा पाउन सकिन्छ ।
ईसीटीएसका लागि आयातकर्ताले प्रतिकण्टेनर ५ हजार २८० रुपैयाँ तिर्नुपर्छ । तर, यो प्रक्रिया लागू भएयता प्रतिकण्टेनर ढुवानी खर्च ४० हजार रुपैयाँसम्म वृद्धि भएको आयातकर्ता बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।