चीनसँग हवाई सम्झौता पुनरवलोकन : निर्माणाधीन विमानस्थलबाट उडान नेपालको प्राथमिकता

Share News

अभियान संवाददाता

काठमाडौं । आगामी साउन ९ र १० मा पेचिङमा नेपाल र चीनबीच हुने हवाई सेवा सम्झौताको पुनरवलोकन वार्तामा नेपालले निर्माणाधीन विमानस्थलहरूबाट चीनका विभिन्न शहरमा उडान गर्ने विषयलाई प्राथमिकता दिने भएको छ । हाल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मात्र चिनियाँ गन्तव्यमा उडान हुँदै आएको छ ।

हाल भैरहवामा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरामा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणाधीन छन् । भैरहवा विमानस्थललाई २०७६ सालभित्रै अन्तरराष्ट्रिय उडानका लागि खुला गर्ने सरकारी योजना छ । चीनका विभिन्न शहरबाट सातामा ७० ओटा उडान गर्न सकिने यसअघिको सम्झौतामा उल्लेख छ । अहिले चीनका पाँचओटा एयरलाइन्सले सातामा ५४ ओटा उडान गरिरहेका छन् । नेपाली वायुसेवा कम्पनीहरूले भने हालसम्म चिनियाँ गन्तव्यमा उड्न पाएका छैनन् ।

वार्तामा नेपाली पक्षको संयोजक तोकिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार हवाई सेवा सम्झौतामा निर्माणाधीन विमानस्थलहरूमा उडानको बुँदा थपिनेछ ।

चीनसँग सन् २०१४ मा पछिल्लो हवाई सम्झौता भएको थियो । साउन ९–११ को वार्तापछि दुई देशबीच हवाई सम्झौता पुनरवलोकन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने सहसचिव आचार्यले जानकारी दिए ।

यसपटकको बैठकमा नेपालले चीनसँग हालसम्म तोकिएकाभन्दा अन्य विन्दुबाट पनि उडान गर्न पाउँ भन्ने नेपाली एयरलाइन्सहरूको चाहनाबारे जानकारी गराउनेछ । शान्सी प्रान्तको कुनै एक विमानस्थल, गुआङडोङ प्रान्तको शेन्चेन, हाइनान प्रान्तको हाइकोऔ लगायत विन्दुमा नेपालका एयरलाइन्स इच्छुक देखिएका छन् । र, चिनियाँ पक्षले पनि ती विमानस्थलमा उडान गर्न दिन इच्छा देखाएको छ ।

चीन उड्न पाउलान् त नेपाली विमान ? मन्त्रालयका अनुसार हवाई सेवा सम्झौता पुनरवलोकनपछि नेपाली एयरलाइन्सलाई पनि चिनियाँ गन्तव्यमा उडान गर्न सहज हुने सम्भावना छ । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले चीनका विभिन्न शहरमा उडानका लागि प्रयास गर्दै आएको छ ।

नेपालको यती वल्र्ड इन्भेस्टमेन्ट र चीनको तिब्बत एयरलाइन्सको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पनि चिनियाँ गन्तव्यमा उडान गर्ने प्रयास गरिरहेको छ ।

असार दोस्रो सातामै चीनको उडान अनुमति (एओसी) प्राप्त गर्ने निगमको दाबी थियो । तर, चिनियाँ टोली सेफ्टी अडिटमा आउन चाहेका कारण एओसी पाउन ढिलाइ भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)बाट एओसी पाएमा निगमले चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वान्चाऊ र साङहाईमा उडान गर्ने योजना बनाएको छ ।

तर, मन्त्रालयका अनुसार चिनियाँ पक्षले निगमलाई कुन्मिङ विमानस्थलमा उडान गर्न दिने बताउँदै आएको छ । निगमले हालसम्म कुन्मिङ उडानको योजना बनाएको छैन । मन्त्रालयका अनुसार तोकिएका विन्दुमा नेपाली एयरलाइन्सहरू जान मानेका छैनन् । जस्तो– साङहाई जान नेपाली एयरलाइन्सहरूलाई चीनले रोकेको छैन । हाई अल्टिच्युटका कारणले ल्हासा विमानस्थलमा अहिले नेपाली एयरलाइन्ससँग भएका विमानहरू जान सक्दैनन् । पेचिङमा नेपालका मात्र होइन, अति व्यस्त भएका कारण संसारभरका एयरलाइन्सले स्लट पाएका छैनन् । २०१९ डिसेम्बरसम्ममा नेपाली एयरलाइन्सलाई स्लट दिन सकिने अनुमानित जानकारी चिनियाँ पक्षले पठाएको छ । ‘हवाई सम्झौता एउटा पाटो हो, जसले कति उडान गर्ने, कहाँबाट गर्ने भन्ने विषय टुंगो लगाउँछ,’ सहसचिव आचार्यले भने, ‘विमानस्थल प्रशासन अलग्गै निकाय हो, जसले सरकारले दिएको क्षमता र फ्रिक्वेन्सीभित्र रहेर तोकिएको विमानस्थलमा स्लट उपलब्ध भएमा उडान गर्न दिने हो ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।