टीपी भुसाल
काठमाडौं । पर्यटन क्षेत्रबाट नेपालले सन् २०१८ मा रू. ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी गरेको छ । यो सन् २०१७ को तुलनामा १७ प्रतिशतले बढी हो । सन् २०१७ मा ५८ अर्ब ५२ करोड ६९ लाख आम्दानी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिजम स्ट्याटिस्टिक्स–२०१८’ मा उल्लेख छ । मन्त्रालयका अनुसार सो आय सन् २०१५/२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो । सन् २०१५/२०१६ रू. ४१ अर्ब ७६ करोड ५ लाख आम्दानी भएको तथ्यांकमा उल्लेख छ ।
सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए, जुन सन् २०१७ को तुलनामा २४ दशमलव ७७ प्रतिशतले बढी थियो । सन् २०१७ मा ९ लाख ४० हजार २१८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१८ मा पर्यटकको बसाई अवधि औसत १२ दशमलव ४ दिन थियो ।
सन् २०१७ मा पर्यटकको बसाइ अवधि १२ दशमलव ६ दिन थियो । अघिल्ला वर्षहरू जस्तै सन् २०१८ मा पनि भारत र चीनबाट धेरै पर्यटक नेपाल भ्रमणमा आएका थिए । नेपालमा बढी पर्यटक भित्रिने पाँच मुलुकमा भारत पहिलो र चीन दोस्रो स्थानमा छन् । भारतबाट सन् २०१८ मा एक लाख ९४ हजार ३२३ र चीनबाट १ लाख ५३ हजार ६३३ पर्यटक नेपाल आएका थिए । नेपालमा पर्यटक भित्रिने मुलुकमध्ये अमेरिका तेस्रोमा पर्छ । सन् २०१८ मा अमेरिकाबाट ९१ हजार ८९५, बेलायतबाट ६३ हजार ४६६ र श्रीलंकाबाट ६९ हजार ६४० पर्यटक नेपाल आएका थिए ।
नेपाल आउने पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेका छन् । गुणस्तरीय पर्यटक भित्र्याउन सके मात्र पर्यटकको खर्च बढाउन सकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय बताउँछन् । त्यसका लागि प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ । ‘अनलाइन पेमेन्टको नीतिगत व्यवस्था, गुणस्तरीय पर्यटक आउने देशहरूमा विशेष खालका प्रवद्र्धनात्मक कार्यक्रम र देशभित्रै खर्च गर्ने क्रियाकलावमा वृद्धि गरिए आम्दानी र संख्या दुवै बढ्नेछ,’ उनले भने । उपाध्यायका अनुसार सरकारले प्रत्येक प्रदेशबाट कम्तीमा १÷१ ओटा पर्नेगरी १०० ओटा नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरिसकेको छ । तिनको विकासमा सम्बद्ध स्थानीय तहहरू जुटेकाले नयाँ गन्तव्य थपिने क्रममा रहेको उपाध्यायले बताए । सरकारले ६८ किलोमीटर नयाँ पदयात्रा मार्ग निर्माण गरेको छ । सिन्धुपाल्चोकको हेलम्बू क्षेत्रमा १०, रसुवाको लाङटाङमा २०, संखुवासभाको मकालु बरुणमा ८ र दोलखाको लखनपुरमा १० किमी तथा रुकुममा गुरिल्ला ट्रेल र यार्सा ट्रेल १०/१० किमीको निर्माण सम्पन्न भएको उपाध्यायले जानकारी दिए ।
पर्यटकको रोजाइका मुख्य नौ स्थान ‘नेपाल टुरिजम स्ट्याटिस्टिक्स–२०१८’ अनुसार नेपाल आउने विदेशी पर्यटक खासगरी नौओटा गन्तव्यमा बढी रमाउने गरेका छन् । ती हुन्– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरू, पशुपतिनाथ मन्दिर, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, गोरखाको मनास्लु, मुस्ताङ, हुम्ला, तल्लो डोल्पा, उपल्लो डोल्पा र कञ्चनजंघा पदमार्गहरू । अधिकांश पर्यटक बिदा, मनोरञ्जन तथा धार्मिक उद्देश्यका लागि नेपाल आउने गरेका छन् । सन् २०१८ मा सात लाख ३ हजार ८४३ जना बिदा मनाउन आएका थिए । धार्मिक उद्देश्यले आउने पर्यटकको संख्या १ लाख ८७ हजार ६९२ थियो । यस्तै, साहसिक पर्यटनमा रुचि राख्नेहरूको रोजाइमा पनि नेपाल पर्ने गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।