बाढीको प्रभाव : प्रदेश–२ मा सबैभन्दा बढी क्षति रौतहटमा

Share News

वीरगञ्ज (अस) । अविरल वर्षाका कारण आएको बाढीले बगाएर प्रदेश २ मा १४ जनाको ज्यान गएको छ । सबैभन्दा बढी मानवीय क्षति रौतहट जिल्लामा भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले बताएको छ । रौतहटमा बाढीले बगाएर ५ जनाको मृत्यु भएको छ । पर्सा, बारा, महोत्तरी र धनुषामा २/२ जनाको ज्यान गएको छ भने सिरहामा १ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता भएका छन् । बेपत्ताहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।

आइतवार साँझसम्म प्रदेश–२ का ८ जिल्लामा १३ हजार ४४ घरपरिवार विस्थापित भएको तथ्यांक प्राप्त भएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रद्युम्नकुमार कार्कीले बताए । बाढीबाट ६ लाख ७९ हजार ३१५ जना मानिस प्रभावित भएको प्रदेश प्रहरीले जानकारी दिएको छ । ९४ ओटा स्थानीय तहका १ लाख १८ हजार १०४ घरमा क्षति पुगेकोमा ३ हजार ५ सय ३० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । बाढीबाट रौतहतका १८ स्थानीय तह प्रभावित भएका छन् । गौर–चन्द्रपुर, गरुडा कटहरियाबाट मौलापुर, देवाही–गोनाही–मौलापुर, गौर–राजदेवी र गौरबाट अन्य भागमा जाने सडक अवरुद्ध छन् ।

प्रहरीले २१ हजार ८ सय ३ जनालाई उद्धार गरेकोमा २४४ जनालाई अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको डीआईजी कार्कीले बताए । पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरी जिल्लाको बर्दीवासनजिकै पर्ने भप्सी खोलामा बाढीले पुल बगाइदिएको छ । शुक्रवार राति पुल बगेपछि आवागमनमा कठिनाइ भएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक योगबहादुर पालले बताए । बाढी नआएको बेला ठूला गाडी खोलाबाटै पार भए पनि साना गाडी गौशाला हुँदै घुमेर बर्दिवासस्थित राजमार्गमा निस्किने गरेका छन् ।

यस्तै, धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ इटर्वा क्षेत्रमा पर्ने जनकपुर–जयनगर रेलको २ सय मिटर ट्र्याकको सतह मुनिको भाग कमला नदीले बगाउँदा ट्र्याक भासिएको प्रहरीले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।