धितोपत्र बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक, मार्जिन कारोबार शीघ्र शुरु गर्ने

Share News

असार ३०, काठमाडौं (अस) । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सोमवार एक कार्यक्रमको आयोजना गरी बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

बोर्डले नीति तथा कार्यक्रममा मार्जिन कारोबार शीघ्र शुरु गर्ने उल्लेख गरेको छ । यसका लागि आवश्यक कार्यविधि एवम् पूर्वाधार तयार भैसकेको बोर्डले बताएको छ । बोर्डले सूचिकृत कम्पनीका संस्थापकहरुको ‘लक इन पिरियड’ सम्बन्धमा बजारमा प्रतिकुल असर नपर्ने गरी सुधार गर्ने भएको छ । यसैगरी नेप्से र सीडीएससीमा सफ्टवेयर क्षमता अभिवृद्धिका लागि आवश्यक सहजीकरण गर्ने, मर्चेन्ट बैंकरको कार्य क्षेत्र सुदृढीकरण गर्दै कार्य क्षेत्र विस्तार गर्ने लगायतका नीति बोर्डले तय गरेको छ ।

नीति तथा कार्यक्रममार्फत धितोपत्र तथा वस्तु विनिमय बजारलाई अन्तरराष्ट्रिय स्तरको बनाउने, बजार पूर्वाधारहरुको विकाससँगै बजार सहभागीहरुको कार्यक्षेत्र, स्तर तथा व्यावसायिकतामा सुधार ल्याउने लक्ष्य धितोपत्र बोर्डले लिएको छ । साथै बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने तथा वित्तीय साक्षरताको स्थितिलाई सुदृढ गर्ने जस्ता लक्ष्य बोर्डको छ ।

संरचनात्मक सुधार गरिएको, बजारका आधारभूत पूर्वाधारहरु तयार भएको तथा नेपाल सरकारले समेत पूँजीबजारलाई प्रोत्साहन गर्ने नीति लिएका कारण आगामी वर्ष धितोपत्र बजारको विकास र विस्तार हुने बोर्डको अपेक्षा छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।