वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट इन्धन पठाउन शुरू गरिएको छ । भारतीय आयल निगम (आईओसी) ले बुधवार मोतिहारी डिपोबाट पहिलोपटक डिजेल पठाएको हो । यसअघि पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएकाले डिजेल पठाइएको नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताए । डिजेल हाल्नुअघि मंगलवार आईओसीले पुनः पानी पठाएर पाइपको फोहोर सफा गरेको छ
मोतिहारीबाट हालिएको डिजेल बिहीवार साँझसम्म पाइपलाइनबाट निगमको अमलेगञ्ज डिपोमा आइसक्ने यादवले जानकारी दिए । ‘बुधवार मोतिहारीबाट डिजेल हालिएको छ । त्यो बिहीवार साँझसम्ममा अमलेखगञ्ज झरिसक्छ,’ उनले आर्थिक अभियानसित भने । उनका अनुसार त्यसपछि पाइपलाइनबाट डिजेलको नियमित आपूर्ति हुनेछ ।
पाइपलाइनको पेट्रोलियम ‘फ्लो’ मापन उपकरण र कम्प्युटर जडान गर्नेबाहेकका सबै काम पूरा भइसकेको छ । १५ दिनभित्र बाँकी काम पनि पूरा गरिसक्ने लक्ष्य आयोजनाको छ । यी उपकरण जडान नहुँदासम्म पाइपलाइनबाट आएको डिजेल ट्यांकीमा हाल्नुअघि ट्यांकीको इन्धन मापन गरेर पाइपलाइनबाट आएको परिमाण निक्र्योल गरिने यादवले बताए । आउँदो अगस्ट १५ भित्र नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा पाइपलाइन उद्घाटन गर्ने योजना रहेको निगमले बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्वीच थिचेर यसको शिलान्यास गरेका थिए ।
मोतिहारीबाट ६९ किमीको दूरीमा पर्ने अमलेखगञ्ज नेपाल–भारत सीमाबाट ३७ किमी टाढा पर्छ । भारत विहारको पटनादेखि अमलेखगञ्जसम्मको पाइपलाइन २६८ किलोमीटर छ ।
भारत सरकारको आर्थिक सहयोगमा बिछ्याइएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सञ्चालनबाट निगमले वार्षिक २ अर्ब रुपैयाँ खर्च जोगाउने छ । यसबाट पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको चुहावट लगायत समस्या समाधान हुने निगमको भनाइ छ ।
शुरूमा डिजेल मात्र ल्याउने तयारी छ । डिजेल आपूर्तिको परीक्षण हेरेर पाइपलाइन मार्पmत पेट्रोल र मट्टीतेल पनि ढुवानी गरिने यादवले बताए । त्यसका लागि भर्टिकल ट्यांक बनाउने निगमको तयारी छ । अहिले पाइपलाइनमा मोतिहारीबाट पेट्रोलियम हालिएकामा निकट भविष्यमा यो पटनाबाट आपूर्ति गरिनेछ ।
शुरूमा रक्सौल–अमलेखगञ्ज पाइपलाइन योजना रहेकोमा आईओसीले रक्सौल डिपोलाई मोतिहारी सार्ने तयारी गरेपछि पाइपलाइनको दूरी पनि लम्बिएको थियो । पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने योजना नेपाल सरकारको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।