कालीगण्डकीको स्टीमर सेवा अवरुद्ध

Share News
पर्वत । कालीगण्डकी नदीमा सञ्चालन हुँदै आएको जल यातायात स्टीमर सेवा नदीमा पानी बढेपछि बन्द भएको छ । दुर्घटना निम्तिने खतराले असोजसम्मका लागि स्टिमर सेवा बन्द गरिएको व्यवसायी रवि भट्टराईले बताए । नदीमा दैनिक ११ ओटा स्टीमर सञ्चालन हुँदै आएका छन् । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले बाँधेको बाँधमा स्थानीयले आवाजजावत गर्न स्टीमर चलाउँदै आएका हुन् । स्टीमरमा २५ जनाले प्रत्यक्ष रूपमा र दर्जनौं व्यक्तिले अप्रत्यक्ष रूपमा रोजगारी समेत पाएका छन् । जलविद्युत् आयोजना नजीकका पर्वत, स्याङ्जा र गुल्मीका बासिन्दा आवतजावत गर्न र सामान ढुवानी गर्न स्टीमरको प्रयोग गर्दछन् । सेवा अवरुद्ध त्यहाँका बासिन्दा यातायातको सुविधाबाट वञ्चित भएका हुन् । गुल्मीमा भने कालीगण्डकी कोरिडोर सञ्चालनमा आएपछि स्टीमरको भर पर्नुपर्ने अवस्था टरेको छ । दक्षिण पर्वतको विहादी गाउँपालिकामा–६ साविकको शालिग्रामदेखि स्याङ्जाको मिर्मिसम्म करीब आठ किलोमिटर स्टीमर सञ्चालन हुँदै आएको छ । स्टीमरबाट आधा घण्टामा सकिने यात्रा चार घण्टाको पैदल हिँड्नस्थानीय बाध्य छन् । कतिपय व्यवसायीले वालिङबाट हुवास हुँदै सामान ल्याउने गरेका छन् । त्यस्तै, गुल्मीको अर्बेनीसम्म कालीगण्डकी कोरिडोरमा सवारीसाधन चल्ने भएकाले त्यहाँबाट भरियालाई बोकाएर पनि व्यवसायीले सामान ल्याउन शुरू गरेका छन् । हिउँदको समयमा सस्तो शुल्कमा मालसामान ढुवानी गर्न पाएका व्यावसायीहरू भरिया र खच्चडबाट महँगो शुल्कमा सामान ढुवानी गर्न बाध्य छन् । यहाँको एक मात्र भरपर्दो यातायात सेवाको रूपमा सञ्चालित स्टिमरले यस क्षेत्रका बासिन्दाको आर्थिक अवस्थामा समेत सुधार भएको छ । एउटा स्टीमरमा १०० देखि १५० जनासम्म यात्रुहरू एकैपटक ओहोरदोहोर गर्न सकिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।