काठमाडौं (अस) । अजोड इन्स्योरेन्स लिमिटेडले असार ३० गते आफ्नो प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाले विगत आव २०६४/६५ देखि आव २०७३/७४ सम्मको वित्तीय विवरण पारित गरेको छ । सभाले सञ्चालक समितिबाट प्रस्तुत आव २०७४/७५ को वार्षिक प्रतिवेदन, वित्तीय विवरण तथा लेखा परीक्षण प्रतिवेदन पारित गरेको हो । सञ्चालक समितिको सिफारिश बमोजिम बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक पनि सभाबाट पारित भएको छ । यस्तै, संस्थापक शेयरधनीका तर्फबाट ४ जना सञ्चालक आजाद श्रेष्ठ, रामबहादुर गुरुङ (अ.प्रा), सागर गुरुङ र चिरञ्जीवी ध्वा निर्विरोध निर्वाचित भएका छन् । साथै, सर्वसाधारणका लागि शेयर निष्काशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान दिने लगायतका प्रस्ताव पनि सभामा पारित भएका छन् ।
कम्पनीले चालू आवको हालसम्म ४९ हजार ४०० बीमालेख जारी गरी रू. ४१ करोड बीमा शुल्क आर्जन गरेको बताएको छ । साथै, हालसम्म ३३० ओटा दाबीबापत रू. २ करोड ८३ लाख दाबी भुक्तानी गरेको पनि जानकारी दिएको छ ।
इन्स्योरेन्सका हाल देशभर ३० शाखा, एक ग्राहक सेवा केन्द्र र १७ ओटा तेस्रो पक्ष बीमा काउन्टर छन् । कम्पनीले मिति २०७६ वैशाख १ गतेदेखि लागू हुनेगरी ३६५ दिन नै बीमा सेवा प्रदान गर्दै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यले यस कम्पनीले फास्ट ट्र्याक दाबी भुक्तानी नीति अवलम्बन गरी रू. २ लाख सम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।