आन्तरिक राजस्व कार्यालय पोखरा : कार्यक्षेत्र घटेसँगै राजस्व संकलनमा कमी

Share News

कास्की । आन्तरिक राजस्व कार्यालय, पोखराको कार्यक्षेत्र घटेपछि राजस्व संकलनमा पनि कमी आएको छ । गण्डकी प्रदेशका १० जिल्ला हेर्दै आएको कार्यालयको कार्यक्षेत्र गत आवदेखि कास्की र स्याङ्जामात्र कायम गरिएपछि राजस्व संकलन घटेको हो । गत आवमा कार्यालयले रू. ५ अर्ब २९ करोड ६९ लाख ६५ हजार राजस्व संकलन गरेको छ । अघिल्लो आवमा उसले रू. ८ अर्ब ७० करोड ९४ लाख ३० हजार राजस्व उठाएको थियो ।

कार्यालयले यसअघि संकलन गर्दै आएको घरबहाल र सम्पत्ति कर गत आवदेखि स्थानीय तहले उठाउन थालेपछि कर संकलन प्रभावित भएको कार्यालयका सूचना अधिकारी विजयप्रसाद लामिछानेले बताए ।

कार्यालयमा अन्तःशुल्क बापतको सबैभन्दा बढी राजस्व तिर्ने सूर्य नेपाल, अवतीश डिस्टिलरी लगायत व्यावसायिक प्रतिष्ठानले तनहुँको दमौलीबाट सेवा लिएकाले राजस्व संकलन कम देखिएको अधिकृत लामिछानेले बताए । ‘आन्तरिक राजस्व कार्यालय पोखरामा यी प्रतिष्ठानको राजस्वको योगदान करीब ४० प्रतिशत थियो,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।