पंखबहादुर शाही
दैलेख । दैलेखमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको काम प्रभावकारी बन्दै गएको छ । १ वर्षअघि परियोजनाको कार्यान्वयन एकाइ दुल्लुमा स्थापना भएको थियो । सो अवधिमा कार्यालयले कृषकलाई अनुदानमा मेशिन वितरण तथा सिँचाइ पोखरी निर्माणलगायत काम गरेको छ ।
गत आर्थिक वर्षमा कार्यालयले १ करोड २६ लाख रुपैयाँ बजेट पाएकोमा करीब ७५ प्रतिशत रकम खर्च भएको कार्यालयका कृषि अधिकृत राजु भुजले जानकारी दिए । कार्यालयले जिल्लाका दुई स्थानीय तहमा लागू हुने गरी ८ ओटा कृषि योजनाका कार्यक्रम शुरू गरेको छ । सो अवधिमा दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको ७ दशमलव ५ हेक्टरमा सिँचाइ सुविधा पुर्याउने गरी १४ ओटा सिँचाइ पोखरीहरू निर्माण गरिएको छ ।
पुराना सुन्तला बगैंचालाई व्यवस्थापन गर्न सजिलो हुने अपेक्षाका साथ ५० प्रतिशत अनुदानमा कृषकलाई साना मेशिनरी औजार वितरण गरिएको छ, जसमा आरी ९५, सिकेचर ९५, पुराना रूख काट्ने मेशिन ४ र फुट स्प्रेयर १३ ओटा कृषि औजारहरू छन् । कार्यालयले फलफूल क्षेत्र विस्तार गर्न ५० प्रतिशत अनुदानमा १० हजार ५ सय सुन्तला र २५ सय कागतीका बिरुवा वितरण गरेको छ । ३७ हेक्टर क्षेत्रफलमा बगैंचा उन्नत प्रविधि अपनाई स्थापना गर्न परियोजनाले रू. ५ लाख ६८ हजार खर्च गरेको छ ।
कार्यालयले रू. १० लाखमा ग्रेडिङ मेशिन, फल टिप्ने औजार तथा भर्याङ र डिजिटल तराजु किनेको छ । साथै, पोष्ट हार्भेस्ट स्थापना भएको छ, जुन कृषकहरूले आवश्यक परेको बेलामा प्रयोग गर्न सक्नेछन् । यस्तै रू. ३ लाख ४८ हजार खर्च गरी दुई स्थानीय तहमा भकारो सुधार कार्याक्रम लागू गरेको छ, जसबाट गत आवमा २९ जना कृषक लाभान्वित भएका छन् ।
सुन्तला बगैंचामा जैविक मलको प्रयोग, रोग नियन्त्रणका लागि जैविक विषादी (निलोतुथो, चून, खनिज तेल) को उपयोगका लागि ३६० जना कृषकहरूलाई तालीम दिइएको कार्यालयले जानकारी दिएको छ । यसका लागि करीब साढे २ लाख रुपैयाँ खर्च भएको छ । कृषि अधिकृत भुजले गत आवमा कृषकहरूलाई उन्नत सुन्तला खेतीको समेत तालीम दिएको जानकारी दिए ।
उनका अनुसार पहिलो वर्षमै सय हेक्टरमा सुन्तला जोन विस्तार गर्ने उद्देश्य भए पनि कृषकको न्यून मागअनुसार ३७ हेक्टरमा मात्र सुन्तलाखेती विस्तार गरिएको छ । यसका लागि ५ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । गत वर्ष दुल्लु र भैरवीमा ४ हजार ३ सय २५ मेट्रिक टन सुन्तला (करीब रू. ४ करोड बराबर) उत्पादन भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।