साउन २७, कास्की । पोखरा महानगर क्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भदौ १ गतेदेखि ई–टिकेटिङ (विद्युतीय टिकेटिङ प्रणाली) कार्यान्वयनमा आउने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको महानगरपालिकाले जानकारी गराएको छ । ई–टिकेटिङ प्रणाली अन्तिम चरणमा पुगेपछि ओम डेभलपमेन्ट बैंकले यात्रा स्मार्ट कार्ड समेत वितरण शुरु गरेको छ ।
आन्तरिक परीक्षणका लागि शुक्रवारदेखि पोखराको सिमपानीबाट आँखा अस्पतालको रुटमा सञ्चालन हुने १३ ओटा बसमा ई–टिकेटिङ लागू गरिएको छ । पोखरालाई स्मार्ट सिटी बनाउने योजना अनुसार सार्वजनिक सवारी साधनहरुमा ई–टिकेटिङ प्रणाली कार्यान्वयन गर्न लागिएको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए । उनले भने, ‘अरुभन्दा पहिले यातायात क्षेत्रलाई स्मार्ट बनाउछौं ।’
तत्कालका लागि नगद र कार्ड दुबैबाट भाडा तिर्न सकिने र कार्ड वितरणलाई प्रभावकारी बनाउँदै नगद कारोबार बन्द गर्ने उनको भनाइ छ । ‘ई–टिकेटिङ प्रणाली शुरु भएपछि यात्रु ठगिने गरेको गुनासो अन्त्य हुनेछ,’ उनले भने, ‘खुद्रा पैसा बोकेर हिड्नुपर्ने बाध्यताकोसमेत अन्त्य हुने छ ।’ यो प्रणालीले व्यवसायीलाईसमेत व्यावसायिक चुहावट र खुद्रा पैसा बोक्नु पर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।
बैंकिङ व्यवस्थापनका लागि ओम डेभलपमेण्ट बैंकसँग समन्वय गरिएको छ । पोखराका वडा कार्यालय, बस सञ्चालक समितिका कार्यालय, ओम डेभलोपमेण्ट बैंकका शाखाबाट क्रमशः कार्ड खरीद गर्न सकिने व्यवस्था मिलाइएको महानगर प्रमुख जिसीले जानकारी दिए । आफ्नो परिचय खुल्ने कागजात र २ प्रति फोटो बुझाएर कार्ड लिन सकिने ओम डेभलपमेन्ट बैंकले बताएको छ । कार्ड लिँदा यात्रुले १०० रुपैयाँ धरौटी राख्नुपर्नेछ । कार्ड लिएपछि बैंकले बोनसस्वरुप सित्तैमा १०० रुपैयाँ रिचार्ज गरिदिन्छ । पछि कार्ड फिर्ता गर्दा ग्राहकले धरौटी रकम फिर्ता पाउने बैंकले जानकारी दिएको छ ।
शुक्रवारदेखि सिमपानीबाट आँखा अस्पताल पुग्ने रुटका १३ ओटा बसमा मेसिन जडान गरेर कार्डमार्फत पैसा तिर्न मिल्ने बनाइएको छ । साउन मसान्तसम्म महानगरमा चल्ने सबै बसमा ई–टिकेटिङ सिस्टम जडान भैसक्ने र भदौ १ गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा लैजाने तयारी महानगरको छ । बसका चालक र सहचालकलाई यस सम्बन्धी मेसिन चलाउने तालीम दिने काम पनि अन्तिम चरणमा पुगेको छ ।
ओम डेभलपभेन्ट बैंकले आवश्यक यात्रा स्मार्ट कार्ड वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको व्यवस्थापनकोसमेत जिम्मा लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वमोहन अधिकारीले बताए । अधिकारीका अनुसार पहिलो चरणमा पोखरा भित्रका स्कूल तथा कलेज अध्ययन गर्ने विद्यार्थीहरुको लागि स्मार्ट कार्ड वितरण शुरु गरिएको छ ।
प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको योजना छ । ई–टिकेटिङ प्रणाली सञ्चालनका लागि पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रालि र पोखरा महानगर यातायात प्रालिका पदाधिकारीहरुबीच सम्झौता भएको थियो । पहिलो चरणमा छोटो दूरीमा व्यवस्था गरिएको ई–टिकेटिङ विस्तारै लामा दूरीका गाडीमा पनि राखिने यातायात व्यवसायी बताउँछन् ।
‘एन क्लाउड’ नामक संस्थाले प्राविधिक पक्ष व्यवस्थापन गर्ने जिम्मा लिएको छ । ‘यात्रुले तोकिएकै भाडादरमा पैसा तिर्न मिल्ने तथा कति यात्रु चढे र कति आम्दानी भयो भन्ने बारे सिधै जानकारी पाउन सकिन्छ,’ कम्पनीका प्रमुख दीपेन्द्रनारायण श्रेष्ठले भने, ‘यात्रु ठगिनबाट बच्ने र समय तथा पैसा दुबैको बचत हुनेछ ।’
के हो ई–टिकेटिङ प्रणाली ?
ई–टिकटिङ सवारी भाडा भुक्तानी गर्ने माध्यम हो । बसका सहचालकसँग एउटा डिभाइस हुन्छ । सहचालकसँग भएको त्यही डिभाइस मार्फत यात्रुहरुले प्रविधियुक्त टिकट पाउँछन् र भाडा बापतको रकम कार्डमा भएको ब्यालेन्सबाट काटिन्छ । यस प्रणाली शुरु भएपछि प्रत्येक यात्रुले विशेष प्रकारको यात्रा कार्ड पनि पाउने छन् । यात्रा कार्डबाट भाडा बापतको रकम सिधै बसको खातामा ट्रान्सफर हुनेछ । जीपीएस जडान गरिएकाले यात्रा गरेको दूरीअनुसारको रकम स्वतः कार्डबाट बैंक खातामा ट्रान्सफर हुनेछ । यात्रुले बैंकमार्फत कार्डमा पहिल्यै रकम जम्मा गरेको हुनुपर्छ । यसका लागि ओम डेभलपमेन्ट बैंकले सहकार्य गरेको छ ।
पहिलो चरणमा नगद नै लिएर सहचालकले ई–टिकट प्रदान गर्ने छन् । दोस्रो चरणदेखि यात्रुकार्ड उपलब्ध भइसकेकाहरुको लागि कार्ड टच गरेर भाडा भुक्तानी गरिने छ । जसअनुसार चढेको ठाउँमा टच गर्ने र झर्दा समेत टच गर्दा आफूले यात्रा गरेको दुरीबमोजिम पैसा काटिने छ । काठमाडौंका केही यातायातमा यो सिष्टम लागू भइसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।