युग फेर्ने डिजिटल उपकरण

Share News

डिजिटल प्रविधिले मान्छेको कल्पनालाई यथार्थमा परिणत गरेको छ । पछिल्ला पाँचै वर्षलाई हेर्दा थाहा हुन्छ, यसले मान्छेको दैनिकी फेरेको छ । स्वभाव बदलिदिएको छ । स्मार्टफोन, क्लाउड कम्प्युटिङ, मल्टिटच ट्याब्लेटलगायत प्रविधिले मान्छेको कार्यशैलीमा तीव्रतर परिवर्तन ल्याइदिए । डिजिटल प्रविधिको यो द्रुत विकासले भविष्यमा विश्वलाई अझ ‘चामत्कारिक युग’ मा प्रवेश गराउने अनुमान प्रविधिविज्ञहरू गर्न थालेका छन् । मानवसमाजमा प्रवेश नगरिसकेका अरू पनि थुप्रै डिजिटल उपकरण परीक्षणका क्रममा रहेको उनीहरू बताउँछन् । तेस्रो विश्वका लागि अझै पनि डिजिटल प्रविधि सहज उपलब्ध हुन नसके पनि उच्चतर सुविधाका क्यामेरा, मोबाइल र स्मार्टफोन त नेपाली बजारमै छ्यासछ्यास्ती पाइन थालिसके । निकट भविष्यमै अल्पविकसित एवम् विकासोन्मुख मुलुकमा पनि यिनीहरूको सहज पहुँचका लागि सजिलो आर्थिक उपायको खोजी निर्माता कम्पनी गरिरहेकै छन् । डिजिटल युगका परिवर्तनकारी यस्तै केही प्रविधि यहाँ प्रस्तुत छन् :

गूगल ग्लास

सन् १९८४ मा आर्नोल्ड स्वार्जनेगर अभिनीत ‘टर्मिनेटर’ चलचित्रले विद्युतीय पर्दामै मात्र भए पनि यसको कल्पना गरेको थियो । त्यसमा प्रयुक्त यन्त्रमानवले आफूले चाहेका संसारका सम्पूर्ण कुराको जानकारी तत्काल आँखैसामुन्ने पाउँथ्यो, दृश्यमै । गूगल चस्माको आविष्कारपछि त्यो चलचित्रकथा यथार्थ ठहरिएको छ । यो चस्मा लगाएपछि हामीले सामाजिक सञ्जाल हेर्ने, गूगल म्याप, जिपिएस प्रयोग गर्ने, तस्वीर खिच्नेलगायत कार्य गर्न ल्यापटप वा क्यामेरा बोक्नै पर्ने झञ्झटबाट मुक्ति पाउँछौँ । यसको परीक्षण सफल भइसकेको छ । करीब १ हजार ५ सय अमेरिकी डलर मूल्य तोकिएको यो चस्मा अहिले निर्माता कम्पनीले सीमित व्यक्तिलाई मात्र उपलब्ध गराएको छ । भविष्यमा अझ सस्तो मूल्यमा सर्वसाधारणमाझ उपलब्ध गराउने तयारीमा कम्पनी लागेको छ ।

फर्म वान

यो थ्री डी प्रिण्टर हो । तपाईंको दिमागले तय गरेको थ्री डी डिजाइनलाई यसले वास्तविक रूपमा प्रिण्ट गर्ने क्षमता राख्छ । जेम्स बण्डको चलचित्रमा देखाइएको दुर्घटनाग्रस्त गाडी एष्टन मार्टिन यही प्रविधिको उदाहरण हो । व्यक्तिगत उत्पादकत्वका साथै सिर्जनशीलतासमेतको अभिवृद्धि गर्न यसको ठूलो भूमिका रहने विश्वास गरिन्छ । यसको बजारमूल्य २ हजार ७ सय ९९ डलर तोकिएको छ ।

ओक्युलस रिफ्ट

यो यस्तो प्रविधि हो, जसले तपाईंलाई खेल खेलिरहेको होइन, खेलको वास्तविक परिवेशभित्र डुबिरहेको भान दिन्छ । त्यसैले यसलाई भर्च्युअल रियालिटी गेमिङको अनुभव दिने प्रविधि भनिएको छ । आफ्नो टाउको दायाँबायाँ घुमाउँदा पनि तपाईं आफू बसेको परिवेश होइन, स्क्रीनमा चलिरहेको खेलभित्रकै परिदृश्य देख्नुहुनेछ । अझ थ्री डी हेडसेटकै प्रयोग गर्नुभयो भने त तपाईंले खेलभित्रको संसार र आफू बसेको सेरोफेरोबीच कुनै भिन्नता नै अनुभव गर्न सक्नुहुन्न । यो अनुभव लिन जम्मा ३ सय डलर खर्च गर्नुपर्ने हुन्छ ।

लिप मोसन

लिप मोसन प्रविधिको आगमनसँगै मल्टिटच डेस्कटपको जमाना गएको आँकलन प्रविधिविशेषज्ञ गर्न थालेका छन् । मल्टिटच डेस्कटपको लगातार प्रयोगले हात दुख्छ तर लिप मोसनलाई औँलाको इशारा नै प्रशस्त छ  । स्क्रीनमा नछोईकनै वेब पेज स्क्रोल गर्ने, म्याप तथा फोटो जूम गर्ने सुविधा पनि यसमा छ । तुलनात्मक रूपमा यो केही सस्तो पनि छ, जम्मा ७० डलर । यसलाई ओक्युलस रिफ्टसँग फ्युजन गर्न सकिए भर्च्युअल गेमिङ थप उच्चतर प्राविधिक युगमा प्रवेश गर्ने प्रयोगकर्ता बताउँछन् ।

आई ट्राइव

प्रविधिप्रेमीमाझ आई ट्र्याकिङ प्रविधिको चर्चा निकै चल्यो । यसको प्रयोगमा सफलता पाउनु ठूलै चुनौती साबित भइरहँदा आई ट्राइवले त्यसलाई साकार पारेरै छाड्यो । यसमा सबै कुरा आँखाको आदेश मात्रैले हुन्छ, न हात लगाउनुपरोस् न त बोल्ने झञ्झट । आई ट्र्याकिङ प्रविधिमा फ्रण्ट फेसिङ क्यामेरा तथा कम्प्युटर प्रोग्रामको मिश्रणसहित यो प्रविधि विकास गरिएको हो । यसै वर्षको अन्त्यमा लिवेभ प्रदर्शनीमा यसलाई प्रस्तुत गरिएको थियो ।

फायरफक्स ओएस

आईओए (एप्पल ओपरेटिङ सिष्टम) र एण्ड्रोइड उत्कृष्ट प्रविधि भए पनि यिनीहरूमाथि विकासकर्ता (डेभलपर्स) को सिर्जनशीलतालाई सङ्कुचित गरिरहेको आरोप थियो । यही  समस्यालाई ध्यानमा राखी मोजिल्ला कम्पनीले प्रविधिमा खुला सोच तथा स्वतन्त्रतालाई बढावा दिन फायरफक्स ओएस (ओपरेटिङ सिष्टम) विकास गर्न लागेको छ । यो ओएस सार्वजनिक भएसँगै निर्माताले विनाअवरोध आफ्ना एप्स सार्वजनिक गर्न सक्नेछन् । साथै प्रयोगकर्ताले आवश्यकताअनुसार परिमार्जनसमेत गर्न सक्नेछन् ।

प्रोजेक्ट फिओना

गेमिङकै लागि निर्माण गरिएको यो पहिलो पुस्ताको ट्याब्लेट हो । रेजर कम्पनीद्वारा निर्मित प्रोजेक्ट फिओना हार्डकोर गेमिङका लागि हो । यो उपकरणलाई यसै महीना सार्वजनिक गर्ने तयारीमा निर्माता छन् । इण्टेलको कोर आई सेवेन प्रोसेशरको प्रयोग गरिएको उपकरणमा अहिलेसम्म सार्वजनिक भएका सम्भवतः सबै गेम खेल्न सकिनेछ । गेमिङ क्षेत्रमा उत्कृष्ट मानिएको रेजर कम्पनी यसमा थ्री एक्सिस गायरो, म्याग्नेटो मिटर, एक्सेलोमिटर, मल्टिटचलगायत प्रविधिसमेत जोड्ने मनस्थितिमा छ ।

गूगलको चालकरहित कार

एक दशकअघि ‘आई रोबोट’ चलचित्रमा देखाइएको चालकबिनै चल्ने कार अब यथार्थमै सम्भव भएको छ । प्रख्यात सर्च इञ्जिन कम्पनी गूगलले यसको निर्माण गरेको हो । यसमा जडित प्रविधिले भिडियो क्यामेरा, सेन्सर, रेडारलगायतलाई एआई (आर्टिफिसियल इण्टेलिजेन्स) सँग समन्वय गराई कार चलाउँछ । परीक्षणका क्रममा यो प्रविधिजडित कारले १ हजार ६ सय ९ किलोमिटर दूरी मानिसको सहयोगबिनै तय गरेको थियो ।

(स्रोत : होङकियात डटकम)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।