काठमाडौं विश्वको घुम्न लायक पाँचौं उत्कृष्ट शहर, नेपाली खाना स्तरीय

Share News

भदौ ४, काठमाडौं । नेपाल सन् २०१९ मा घुम्न लायक विश्वको पाँचौं उत्कृष्ट शहर घोषित भएको छ । विश्वप्रसिद्ध ट्राभल साइट लोन्ली प्लानेटले सार्वजनिक गरेको संसारकै घुम्न पर्ने १० शहरको सूचीमा काठमाडौं पाँचौं नम्बरमा छ ।

लोन्ली प्लानेटको सूचीमा विश्वका घुम्न पर्ने उत्कृष्ट शहरमा डेनमार्कको राजधानी कोपनहेगन पहिलो नम्बरमा छ भने दोस्रोमा चीनको सेन्जेन, तेस्रोमा सर्वियाको नोभिसाड र चौथोमा अमेरिकाको मियामी रहेका छन् । पाँचौंमा नेपालको काठमाडौं पछि क्रमशः मेक्सिकोको मेक्सिको सिटी, सेनेगलको डाकार, अमेरिकाको सियाटल, क्रोसियाको जदार र मोरक्काकोे मेक्नेस परेका छन् । गत वर्ष पहिलो नम्बरमा स्पेनको सेभिल्ला परेको थियो ।

लोन्ली प्लानेटले सन् २०१५ को भुकम्पपछि काठमाडौंमा क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण भएको र कतिपय सांस्कृतिक सम्पदाहरु पुनर्निर्माणको चरणमा रहेको बताएको छ । उसले नेपाली खानालाई स्तरीय खानाको रूपमा उल्लेख गरेको छ । साथै हनुमान ढोका, काठमाडौं दरबार स्क्वायर, इटुम्बहाल, गार्डेन अफ ड्रीम्स, असन टोल, नासल चोक, सेतो मच्छिन्द्रनाथ (जनबहाल), तलेजु मन्दिर, कुमारी बहाल, त्रिभुवन म्युजियम लगायतलाई काठमाडौंका मुख्य घुम्न पर्ने ठाउँमा रूपमा सूचीकृत गरेको छ । कला संस्कृतिले धनी काठमाडौंमा सूचना प्रविधिको प्रयोगमा पनि सहजता थपिएको समेत लोन्ली प्लानेटले उल्लेख गरेको छ ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको सन्दर्भमा लोन्ली प्लानेटको यो सूचीले नेपालको पर्यटनका विषयमा विश्व समुदायमा सकारात्मक सन्देश जाने पर्यटन व्यवसायीहरुको धारणा छ । भ्रमण वर्ष अभियानको सिलसिलामा नेपाल भ्रमण वर्ष सचिवालयले नेपालको सांस्कृतिक–आध्यात्मिक, साहसिक र ‘वाइल्डलाइफ’ पर्यटनका विषयमा तीन ओटा पुस्तक प्रकाशनका लागि लोन्ली प्लानेटसँग सहकार्य गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।