मुस्ताङको चराङमा १ करोड १४ लाखको लागतमा सिंचाई सुविधा

Share News

भदौ ५, कास्की । मुस्ताङ जिल्लाको चराङबासीमा रू. १ करोड १४ लाखको लागतमा सिंचाई आयोेजना सम्पन्न भएको छ । मुस्ताङको लो -घेकर दामोदरकुण्ड गाउँपालिका १ चराङमा ‘मेकी युरा सिंचाइ आयोजना’ निर्माण सम्पन्न भएको हो ।

यस आयोजना सम्पन्न भएपछि सिंचाई अभावमा कृषि उत्पादनबाट बञ्चित हुँदै आएका कृषकहरु लाभान्वित हुने छन् । गण्डकी प्रदेश सरकारको रू.७९ लाख र लो- घेकर दामोदरकुण्ड गाउँपालिकाको रू.३५ लाख गरी कुल रू. १ करोड १४ लाखको लागतमा चराङ खोलादेखि साढें एक किलोमिटरको नहर निर्माण गरि सिंचाइको व्यवस्था मिलाइएको  हो ।

यस जिल्लाको विकट स्थानमा सिंचाइ  सुविधा पुुगेपछि चराङवासीले खुसी व्यक्त गरेको गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा बिष्टले बताए । ‘आयोजनाको सञ्चालनसंगै सिंचाइसँगै चराङ लघु जलविद्युत आयोजना सञ्चालन गर्नसमेत सहज हुने छ’,उनले भने । सिंचाइ सुविधा पुगेपछि चराङमा अव उवा,फापर, तोरी, आलु, केराउ लगायत विभिन्न कृषि उत्पादनका साथै स्याउ उत्पादनमा समेत  बृद्धि हुने उनले बताए ।

‘मेकी युरा सिंचाइ आयोजना सम्पन्न भएसँगै चराङबासीमा कृषी उत्पादनप्रति नयाँ उत्साह पनि थपिएको छ’, उनले भने । चराङमा सिंचाइ नहुँदा स्थानीयले  वर्षमा एक पटकमात्र  खेती गर्दै आइरहेको बताउँदै उनले  भने, ‘अव भने गाउँमा सिंचाइ सुविधा पुगेपछि खेतीपाती  गर्न पनि सजिलो हुन्छ ।’

चराङमा विमानस्थल निर्माणको समेत संभाब्यता अध्ययन हुने बताउँदै  उनले अव उपल्लो मुस्ताङको समेत विकास निर्माणको माध्यामबाट बिकटलाई पनि निकट बनाउनेतर्फ आफु लाग्ने जानकारी दिए। १०६ घरधुरी रहेको चराङ गाउँमा सिंचाइ सुविधा पुगेपछि स्थानीयमा खुशीयाली छाएको लो -घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट बताउँछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।