भदौ ९, कस्की । पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक २०६२/६३ को दोस्रो जनआन्दोलनमा आन्दोलनकारीले तोडफोड गरी ढलाए । जनआन्दोलनको करीब १४ वर्षपछि उक्त शालिक अहिले पोखराको सराङकोटमा निर्माण गरिएको ‘राष्ट्रिय विभूति तथा शहीद पार्क’मा ठडिएको छ । पार्कमा पृथ्वीनारायण शाहको ६ फिट ३ इन्च अग्लो पूर्णकदको शालिक राखिएको पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमल्सिनाले जानकारी दिए ।
पोखरा महानगरपालिकाले पोखराका चोकचोकमा राखिएका विभिन्न विभूतिका शालिकलाई व्यवस्थापन गर्ने अभियानस्वरुप सराङकोट मेथलाङ्स्थित निर्माणाधीन ‘राष्ट्रिय विभूति तथा शहीद पार्क’मा नेपाल एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहदेखि अन्य शहीदका कलात्मक शालिक राख्ने क्रम शुरु भएको छ । महानगरले शालिकको व्यवस्थापन गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सराङ्कोटमा विभिन्न शहीद तथा विभूतिहरुका पूर्णकद र अर्धकदका शालिकसहित पार्क निर्माण गरिरहेको छ । पार्क निर्माणसँगै पोखरामा नयाँ पर्यटकीय गन्तव्य थपिएको महानगरले बताएको छ । नवनिर्मित पोखराको शहीद पार्कको डाँडाबाट पोखराको मनोरम दृश्य सजिलै देख्न सकिन्छ ।
पोखराको व्यस्त बजार क्षेत्रसँगै चोकहरुबाट शहीद र विभूतिको शालिकलाई महानगरपालिकाले एकै ठाउँमा स्थापित गर्ने निर्णय गरेको थियो । महानगरपालिकाको निर्णयसँगै पहिलो चरणमा पोखरा–१८, सराङकोटस्थित जामुनबोटको ५६ रोपनी क्षेत्रफलमा रहेको ‘राष्ट्रिय विभूति तथा शहीद पार्क’मा पृथ्वीनारायाण शाहसँगै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पृष्पलाल, जनआन्दोलन २०६२/६३ का प्रथम शहीद भीमसेन दाहालको कलात्मक अर्धकदको शालिक पार्कमा राखिसकिएको छ । विभूति पार्कमा पूर्वप्रधानमन्त्री बीपी कोइराला, भीमसेन थापा, शहीदहरु हरि गुरुङ, योगेन्द्रमान शेरचन, लखन थापालगायत राष्ट्रिय विभूतिहरुको शालिक राखिने स्वकीय सचिव तिमल्सिनाले बताए । ‘योगेन्द्रमान शेरचन र रविन्द्र अधिकारीको अर्धकदको शालिक तयार हुँदै छ,’ उनले भने, ‘शालिक तयार हुने बित्तिकै राखिन्छ ।’
तत्कालीन पोखरा उपमहानगरपालिकाले सराङकोट गाविस हुँदा ५६ रोपनी क्षेत्रफल छुट्याएर पार्क बनाउने निर्णय गरेको थियो । पार्कको भोगाधिकारको जिम्मा जनआन्दोलनका प्रथम शहीद भीमसेन दाहाल स्मृति प्रतिष्ठानलाई २०६७ सालमा दिइएको थियो । पछि महानगरपालिकाले आफ्नै लगानीमा सराङ्कोटमा विभूति तथा शहीद पार्क स्थापना गर्ने निर्णय गरेको थियो ।
स्वकीय सचिव तिमिल्सिनाका अनुसार पृथ्वीनारायण शाहको ६ फिट ३ इन्च अग्लो शालिक बनाउन २ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ । अर्धकदको एउटा शालिक निर्माण गर्न ५० हजार रुपैयाँ खर्च भएको छ । ‘विभूति तथा शहीद पार्क व्यवस्थित गर्न महानगरपालिकाले यो वर्ष १ करोड रुपैयाँ बजेट छुट्याएको छ,’ उनले भने, ‘त्यसबाट सेमिनार हल, बाल उद्यान, पृथ्वीनारायण शाहको ब्लक र रविन्द्र अधिकारी ब्लक निर्माण गरिने छ ।’ पार्कसम्म पुग्ने बाटो कालोपत्रे गरिएको छ । पार्क उक्लिने सिँढी निर्माण गरिएको छ । विभूति तथा शहीद पार्कभन्दा केही तलको स्थानमा खुल्ला व्यायाम शालासहितको पार्क बनाइएको छ । ‘४५ लाखको लागतमा ओपन जिमसहितको व्यवस्थित पार्क बनाइएको छ,’ तिमल्सिनाले भने, ‘सार्वजनिक शौचालय पनि छ ।’
यसअघि पोखराका विभिन्न चोकमा रहेका विभूति तथा शहीदको शालिकलाई पार्क बनाएर व्यवस्थापन गर्ने काम ३ महीना अघिमात्र थालिएको हो । यही ३ महीनाको अवधिमा पार्कको खाकासहित एउटा पूर्ण र दुई ओटा अर्धकदलगायत आधा दर्जन शालिक राखिएको हो । पार्कमा १०८ विभूति र शहीदको शालिक स्थापना गरिने योजनासहित काम भईरहेको तिमल्सिनाले जानकारी दिए । ‘यो वर्ष १ करोडबाट पूर्वाधारका कामहरु गरिने छ,’ उनले भने, ‘बजार क्षेत्रका शालिक ल्याएर स्थापित गरिने छ ।’
पोखराका विभिन्न स्थानमा रहेका शहीद लखन थापादेखि मेयर हर्क गुरुङ, अमरसिंह थापा, हरिप्रसाद गुरुङ, कवि शिरोमणि लेखनाथ पौडेललगायतका शालिकलाई महानगरपालिकाले सराङ्कोटस्थित राष्ट्रिय विभूति तथा शहीद पार्कमा व्यवस्थापन गर्ने बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।