सिँगटी खोला जलविद्युत्को ‘इन्टेक’ परीक्षण सफल

Share News

दोलखा । दोलखाको सिँगटी खोलामा निर्माणाधीन सिँगटी खोला जलविद्युत् आयोजनाको इन्टेकको परीक्षण सफल भएको छ । २५ मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेकको सोमवार परीक्षण गरिएको हो ।

इन्टेकमा कुनै समस्या नदेखिएकोले परीक्षण सफल भएको आयोजनाका प्रमुख मनहरि सापकोटाले आर्थिक अभियानलाई बताए । इन्टेकमा पानी भर्दा कुनै समस्या नदेखिएको आयोजनाले बताएको छ । आयोजनाबाट ढिलोमा कात्तिकभित्र विद्युत् उत्पादन शुरू हुने सापकोटाले जानकारी दिए ।

उनका अनुसार आयोजनाको हेडवक्र्सको काम समाप्त भई ५ हजार ९१५ मिटर टनेल बनिसकेको छ । बाँकी करीब १२ सय मिटर टनेलभित्र अन्तिम चरणको काम भइरहेको उनले बताए । यसैगरी १ हजार १६ मिटर पेनस्टक पाइपमध्ये करीब ८० मिटर मात्र जोड्न बाँकी रहेको उनको भनाइ छ । अहिले पावर हाउसभित्र जडान गरिने उपकरणहरूको टेस्टिङ तथा जडान भइरहेको सापकोटाले बताए ।

सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको आयोजनाको लागत रू. ४ अर्ब ६३ करोड अनुमान गरिएको थियो । आयोजनामा सिभिल बैंकको नेतृत्वमा १० ओटा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । आयोजनामा १ अर्ब ४५ करोड स्वपूँजी लगानी रहेको छ । डलरमा भएको मूल्य वृद्धि र सरकारले भ्याट छूटस्वरूप दिने भनेको प्रतिमेगावाट रू. ५० लाख नआउँदा लागत भने केही बढ्ने आयोजनाले बताएको छ । शुरूमा १६ मेगावाट क्षमता रहेको आयोजनाको पछि क्षमता वृद्धि गरी २५ मेगावाट पुर्‍याइएको हो । 

आयोजना सम्पन्न भएपछि १२ दशमलव ५ मेगावाट क्षमताका दुई जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने आयोजनाको प्रवर्द्धक कम्पनी सिँगटी हाइड्रो पावर इनर्जी लिमिटेडले बताएको छ । उत्पादित विद्युत्लाई सिँगटी बजारमा निर्माणाधीन सबस्टेशनमा लगी केन्द्रीय प्रसारणमा जोडिने छ ।

आयोजनाको सर्फेस सिभिलको काम रामेछाप शेर्पा कन्स्ट्रक्सन जेभी, अन्डर ग्राउन्ड टनेलको आर जे सूर्या जेभी, हाइड्रो मेकानिकलको काम क्रिम हाइड्रो प्रालि तथा इलेक्ट्रो मेकानिकलको काम चिनियाँ कम्पनी क्विङकाङ हाइड्रो जेनेरेटिङ इलेक्ट्रिक लिमिटेडले गरिरहेको आयोजनाले बताएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।