पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल : तोकिएकै समयभित्र काम सक्न पर्यटनमन्त्रीको निर्देशन 

Share News

कास्की । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको बुधवार निरीक्षण गरेका छन् । सो क्रममा मन्त्री भट्टराईले विमानस्थलको काम तोकिएको समयभित्रै सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन् । 

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सो विमानस्थलको निर्माण कुनै पनि बहानामा नरोक्न उनले निर्देशन दिए । आयोजना प्रमुख विनेश मुनाकर्मीले विमानस्थलको काम ४५ प्रतिशतभन्दा बढी सकिएको जानकारी गराएका थिए । विमानस्थलमा ३१९ र ३२० एयरबस ल्याण्ड हुने नागरिक उड्डयन प्राधिकरणका डिजी राजन पोखरेलले बताए । ‘प्राविधिक कारणले यो विमानस्थलमा ३१९ र ३२० एयरबसहरू मात्र ल्याण्ड हुनेछन्,’ उनले भने, ‘त्यसका लागि विमानस्थलको अघि रहेको डाँडा खार्नुपर्छ ।’

यी एयरबसकोे सिट क्षमता १४० देखि १६० मात्र हुनेछ । नेपालका लागि प्लेनको इन्ट्री रुट हालसम्म सिमरा मात्रै रहेको उल्लेख गर्दै पोखरेलले भैरहवाबाट प्रवेश गर्न भारतसँग लगभग कुरा मिलिसकेको बताए । सन् २०२२ सम्म निर्माणकार्य सक्नेगरी सम्झौता भए पनि ६ महीनाअगावै काम सकिने दाबी आयोजनाको छ ।

विमानस्थल निर्माणका लागि पोखरामा ४० वर्ष पहिले ३ हजार १०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । विमानस्थल निर्माण प्रक्रियाको लागि चीन सरकारसँग २२ अर्ब रुपैयाँमा सम्झौता भएको थियो । अधिग्रहण गरिएको जमीनले नपुगेपछि गत वर्ष थप ६२९ रोपनी जग्गा सरकारले अधिग्रहण गरेको हो ।

विमानस्थलको कुल क्षेत्रफल १ हजार १५६ रोपनी छ । १ हजार ४४७ मिटर लम्बाइ र ३० मिटर चौडाइको धावन मार्ग हुनेछ । विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी सीएएमसीले पाइसकेको छ । सरकारले ईपीसी मोडेलमा २१ करोड ५० लाख अमेरिकी डलर (२१ अर्ब रुपैयाँ) मा निर्माण सक्न ठेकेदार कम्पनी सीएएमसीसँग सम्झौता गरेर निर्माण कार्य अगाडि बढाएको हो । विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । चीनको एक्जिम बैंकको सहुलियत ऋणमा विमानस्थल निर्माण अगाडि बढाइएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।