पोखरा विमानस्थलमा विदेशी महिला पर्यटकलाई रातो साडी र चुरा

Share News

भदौ १६, कास्की । पर्यटकीय नगरी पोखरामा तीज पर्वको अवसरमा विमानस्थलहुँदै पोखरा भ्रमणका लागि आएका विदेश महिलालाई विशेष स्वागत गरिएको छ । महिलाहरुको विशेष पर्व हरितालिका तीजको अवसरमा हवाईमार्ग हुँदै पोखरा आएका महिला पर्यटकलाई विमानस्थलमा सोमवार रातो साडी, चुरा र पोते लगाई स्वागत गरिएको हो ।

सामुदायिक सेवा केन्द्र बैदामको आयोजना नेपाल पर्यटन बोर्डको प्रवर्द्धधनमा हवाई मार्ग हुँदै पोखरा आएकी न्युजिल्याण्डकी वुनेईलाई केन्द्रकी अध्यक्ष मीना भट्टराईसहितको टोलीले नेपाली परम्परा अनुसारको रातो साडी, चुरा तथा पोते लगाइदिएका थिए । पोखरा भ्रमणका लागि आएकी वुनेईलाई साडीसहित नेपाली महिलाको भेषमा सजाएपछि उनी खुशी हुँदै आफ्नो पहिलो नेपाल भ्रणण यात्रा अविस्मरणीय भएको बताईन् । उनले नेपाली महिला दिदि बहिनीहरुले मनाउने तीज पर्व निकै रमाइलो लागेको बताइन् । बुनेईले नेपाल प्राकृतिक रुपमा धेरै रमाइलो लागेको बताउदै नेपालीको बानी, व्यवहार र मित्रता झनै राम्रो लागेको बताइन् ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरन्जिबी पोख्रेलले हरितालिका तीज पर्व नेपाली सांस्कृतिक पर्व भएकाले यस्ता पर्वमा पर्यटकहरुलाई समेत जोडेर मनाउदा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सामुदायिक सेवा केन्द्रकी अध्यक्ष भट्टराईले तीज विषेश कार्यक्रम अन्तर्गत हवाई मार्ग हुँदै पोखरामा आएका विदेशी महिला पर्यटकहरुलाई स्वागत गरिएको बताइन् । ‘नेपाली कला, संस्कृति र चाडपर्व संरक्षणसँगै पर्यटन प्रवर्द्धन गर्न हामीले यो कार्यक्रम गरेका हौं,’ उनले भनिन् । ‘तीज पर्वको छुट्टै सन्देश दिन पनि पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेका हौं ।’

नेपाल पर्यटन बोर्डको प्रवर्द्धन सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा पोखरामै पहिलो पटक विदेशी महिलालाई यसरी स्वागत गरिएको हो । पर्यटन परिषद पोखराले भाईटीका अर्थात तिहार पर्वमा समेत भाईटिका महोत्सवको आयोजना गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।