सूचीकृत कम्पनीहरूको नाफा 

Share News

‘अमुक बैंक अर्बपति क्लबमा’, ‘अमुक बैंकले ३ अर्ब नाफा कमायो’, ‘अमुक बैंकले १२ अर्ब ब्याज कमायो’ हरेक त्रैमासिक अवधि सकिएपछिका समाचारका शीर्षक यस्तै हुने गर्छन् । नेपाल स्टक एक्सचेन्जमा संख्यात्मक रूपमा बैंकिङ कम्पनी बढी देखिए पनि जलविद्युत्, दूरसञ्चार, उत्पादन तथा प्रशोधन र होटेलको पनि उपस्थिति छ । अन्य कम्पनीको नाफाको विषय जहिले पनि गौण बन्छ । तर, बैंकको नाफा बढी भयो, बढी कमायो, लुट्यो भन्ने समाचार र गुनासो सर्वाधिक सुनिन्छ । बैंक (वाणिज्य) र अन्य क्षेत्रका कम्पनीको आम्दानीलाई संक्षेपमा तुलना गर्ने प्रयास गरिएको छ । 

बैंकको पूँजी र नाफा 
मुलुकमा २८ ओटा वाणिज्य बैंक सञ्चालनमा छन् । असार मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको कुल चुक्तापूँजी २ खर्ब ५२ अर्ब १३ करोड रुपैयाँभन्दा बढी र औसतमा ९ अर्ब रुपैयाँ छ । कृषि र एभरेष्ट बैंकको अग्राधिकार शेयरलाई समेत चुक्तापूँजीमा गणना गरिएको छ । १ वर्षको अवधिमा ३ खर्ब ३ अर्ब रुपैयाँ ब्याज आम्दानी गरी झन्डै ६० प्रतिशत रकम ब्याज खर्चपश्चात् करीब १ खर्ब २८ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । औसतमा २८ ओटा बैंकले १० अर्ब ८३ करोड रुपैयाँ ब्याज आम्दानी गरेका छन् । औसतभन्दा तल्लो अंकमा ब्याज आम्दानी गर्ने बैंकको संख्या १७ ओटा रहेको छ । खुद ब्याज आम्दानीको औसत अंक ४ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । १६ ओटा बैंकको खुद ब्याज आम्दानी औसत अंकभन्दा तल रहेको छ । सञ्चालन नाफाको अंक ९१ अर्ब ४६ करोड रुपैयाँ र औसतमा ३ अर्ब २६ करोड रुपैयाँ छ । वितरणका लागि उपलब्ध खुद नाफाको अंक ४४ अर्ब ५६ करोड रुपैयाँ र औसतमा १ अर्ब ६० करोड रुपैयाँ हुन आउँछ । कुल चुक्तापूँजीलाई भाग लगाउँदा शेयरधनीको भागमा १७ रुपैयाँ प्रतिशेयर पर्न आउँछ । १३ ओटा बैंकले मात्र औसतभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता राख्छन् । बाँकी १५ ओटा बैंकमा सबैभन्दा कम ६ रुपैयाँ प्रतिशेयर लाभांश दिने हैसियत सेन्चुरी बैंकको छ । 

बैंकले यति आम्दानी गर्न औसतमा झन्डै ७ रुपैयाँ (कोषको लागत) खर्च गरेर निक्षेप लिएको देखिन्छ । कोषको लागतमा सबैभन्दा धेरै सिटिजन्स बैंकको ८ दशमलव ५८ प्रतिशत र सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको ३ दशमलव ५२ प्रतिशत रहेको छ । ब्याज अन्तर औसतमा करीब ४ प्रतिशत रहेको छ । सबैभन्दा धेरै अन्तर नेपाल एसबीआईको झन्डै ५ प्रतिशत र सिभिल बैंकको ३ दशमलव ७६ प्रतिशत छ । 

अन्य क्षेत्रको कम्पनी र नाफा
बैंकले बढी नाफा कमायो भन्ने गुनासो आइरहेको बेला बैंक बाहेकका अन्य क्षेत्रका केही प्रतिनिधि कम्पनीको पूँजी र नाफाको बारेमा पनि केही चर्चा हुनु उचित हुन्छ । शेयरबजारमा उल्लेख्य स्थान लिएका सातओटा कम्पनीको कुल चुक्तापूँजी २५ अर्ब ५६ करोड रुपैयाँ रहेको छ । यसमा अहिलेसम्मकै सर्वाधिक १५ अर्ब रुपैयाँ चुक्तापूँजी भएको नेपाल टेलिकम र ठूलो कारोबार हुने तर, अत्यन्त न्यून ९ करोड २१ लाख रुपैयाँ चुक्तापूँजी भएको युनिलिभर नेपालसहित सातओटा कम्पनीको कुल विक्री आम्दानी ६५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । यी कम्पनीको खुद नाफाको अंक १५ अर्ब रुपैयाँभन्दा बढी छ । चुक्तापूँजीको आधारमा यी कम्पनीको वितरणयोग्य नाफाको अंक औसतमा ६० रुपैयाँ प्रतिशेयर पर्न आउँछ । यी मध्ये सर्वाधिक प्रतिशेयर आम्दानी युनिलिभरको झन्डै १ हजार ५ सय रुपैयाँ छ । आम्दानी घटेको विवरण पेश गर्दा पनि नेपाल टेलिकमको प्रतिशेयर आम्दानी ६८ रुपैयाँ छ । पूँजी बढेको कारण प्रतिशेयर आम्दानी कम देखिए पनि चिलिमे जलविद्युत्को विक्री आम्दानी १ अर्ब रुपैयाँभन्दा बढी छ । 

तुलना र निष्कर्ष 
बैंकले बढी नाफा कमायो भन्नुको कुनै तात्त्विक  अर्थ छैन भन्ने कुरा बैंक तथा वित्तीय संस्थाको आय र अन्य कम्पनीको आयको तुलनाले स्पष्ट पारेको छ । कडा नियमनमा रहेको र तोकेको ब्याज अन्तरमा बसेर आम्दानी गर्दा पनि लुट्यो, बढी कमायो भन्ने प्रसंगलाई खारेज गरेको छ । बैंकले लुटे, खाए भन्ने कुरा विशुद्ध आरोप मात्र हो, बरु बैंकले पूँजी निर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै केही हदसम्म ‘समाजसेवा’ गरेको देखिन्छ । तालिका हेर्दा नाफामा नियन्त्रण गर्नुपर्ने क्षेत्र बैंक बाहेकका देखिएका छन् । यस्ता क्षेत्रका कम्पनीको नाफा नियन्त्रण गर्दा उपभोक्ताको हित रक्षासमेत हुने कुरालाई नकार्न सकिँदैन ।  

लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।
[email protected]

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।